Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति

मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी : बेनी नगरपालिका-२ को बगरफाँट-कोप्रे हुँदै वडा नम्बर ३ को दूधेखोला जोड्ने सडक मार्ग खुलेको १८ वर्षपछि स्तरोन्नति भएको छ। पूर्वाधार विकास कार्यालय, म्याग्दीमार्फत सञ्चालित हाँडेभिर-बगरफाँट-भकिम्ली सडकको बगरफाँट-कोप्रे-दूधेखोला खण्डलाई फरालिलो, घुम्ती तथा मोड, ग्रेड सुधार, नाली र टेवा पर्खाल निर्माण गरेर स्तरोन्नति गरिएको हो।

विसं २०६४ मा कृषि सडकका रूपमा बेनीबजारदेखि बेनी नगरपालिका-२ को हाँडेभिर-बगरफाँट हुँदै भकिम्ली सडकको ‘ट्याक’ मार्ग खुलेको थियो। हाँडेभिरबाट बगरफाँटको बुद्ध एकेडेमीसम्मको सडकको मंगलाघाट पारीको भीर बाहेकको क्षेत्रमा दुई वर्षअघि नै कालोपत्र भइसकेको छ।

बगरफाँटदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर बढी सडकलाई फराकिलो बनाउने, नाली, पर्खाल र ग्राभेल भएपछि स्थानीयवासीलाई सुविधा पुगेको बेनी नगरपालिका-२ बगरफाँटका चन्द्रबहादुर घिमिरेले बताए। “साँघुरो, खाल्डाखुल्डी भएको सडकमा वर्खामा पानी र हिलो जमेर आवतजावतमा असहज भएको थियो”, उनले भने, “सडक स्तरोन्नति भएपछि २० मिनेटको यात्राअवधी पाँच मिनेटमा छोटिएको छ।”

आयोजनाको हल्लेगौडा क्षेत्रमा ३९० मिटर ढलान, नाली सफा, भत्किएको ठाउँमा मर्मत सुधारबाहेक ८० प्रतिशत काम सकिएको निर्माण कम्पनीका प्रतिनिधि नीरज भण्डारीले बताए। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत बहुवर्षीय योजनाको रूपमा छनोट भएको यस योजना निर्माणका लागि विसं २०८१ जेठ महिनामा पूर्वाधार विकास कार्यालयले पाँच करोड ५९ लाखमा सडक स्तरोन्नतिको लागि माछापुच्छ्रे हिमालयन जेभीसँग ठेक्का सम्झौता गरेको थियो।

यस सडक स्तरोन्नतिका लागि १० करोड लागत अनुमान गरी ठेक्का प्रतिस्पर्धामार्फत योजनालाई कार्यान्वयन गराइएको हो। यो योजनाबाट बगरफाँटदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ग्राभेल भएपछि आवतजावत सहज, यात्रा अवधि छोटिएको कोप्रेका बासिन्दा ओमबहादुर घर्तीमगरले बताए।

दूधेखोलादेखि भकिम्ली जोड्ने सडकको विभिन्न खण्डमा ३९० मिटर सडक ढलान गर्न बाँकी छ। यही चैत महिनासम्म ठेक्काको म्याद रहे पनि प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन नगरेका कारण काम गर्न समस्या भएको निर्माण व्यवसायी भण्डारीले बताए।

बागलुङको ताराखोला र काठेखोला गाउँपालिका जोडिने यो सडक बेनी नगरपालिकाको २, ३, ४ र मंगला गाउँपालिकाको ३ र ४ का बासिन्दाले सदरमुकाम बेनी आउन जान प्रयोग गर्छन्। https://nepalnews.com/2026/03/23/road-upgrade-18-years-after-opening/

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट