दमक : जेनजी आन्दोलनमा छोरालाई गुमाएका सहिद श्रीयम चौलगाईंका पिता गणेश चौलगाईंले आगामी निर्वाचनलाई न्याय र बदला को राजनीतिक लडाइँका रूपमा परिभाषित गर्दै केपी शर्मा ओली र बालेन्द्र शाह दुवैलाई पराजित गर्न सार्वजनिक अपिल गरेका छन् ।
झापा–५ मा उम्मेदवारी दिएका ओली र बालेनप्रति कडा आक्रोश व्यक्त गर्दै चौलगाईंले भने, “नरसंहार मच्चाउने ओली र त्यसमा उक्साउने बालेन—दुवैलाई जनताले चुनावमा हराउनुपर्छ।”
झापा–५ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जीत तामाङसँग मंगलबार गौरादह–७ मा भेट गर्दै उनले जेनजी आन्दोलनका एजेन्डा सत्ता र स्टन्ट राजनीतिले बेवारिसे बनाएको आरोप लगाए। उनका अनुसार जेनजी विद्रोह कुनै चुनावी सौदाबाजी होइन, भविष्यप्रतिको विद्रोह हो। “जेनजीका एजेन्डा बोकेको उम्मेदवार भएकाले मेरो साथ, सहयोग र समर्थन रञ्जीत तामाङलाई रहन्छ,” सहिद पिताले स्पष्ट पारे।
उनले २०८४ को निर्वाचन २०८२ मा सार्न मात्र जेनजी आन्दोलन नभएको उल्लेख गर्दै भने, “एकथान चुनाव मात्रै जेनजीको माग थिएन। यो आन्दोलन व्यवस्थामाथिको प्रश्न हो।”
उम्मेदवार तामाङले जेनजी आन्दोलनका अधुरा सपना पूरा गर्न आफू मन, वचन र कर्मले लागिरहने प्रतिबद्धता जनाउँदै सहिद परिवारको विश्वासले आफ्नो राजनीतिक जिम्मेवारी झनै बढेको बताए।
जेनजी आन्दोलनका सहिद श्रीयम चौलगाईं मोरङको बेलबारी नगरपालिका–११ का स्थायी बासिन्दा हुन्। १८ वर्षीय श्रीयम परिवारसहित काठमाडौंको पेप्सीकोलामा बस्दै आएका थिए। उनी ग्लोबल कलेज अफ म्यानेजमेन्टमा कक्षा १२ (म्यानेजमेन्ट) अध्ययनरत थिए। श्रीयम परिवारका एक्लो छोरा थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij