Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

राजनीतिसँगै व्यावसायिक उखुखेतीमा जमेका जनप्रतिनिधि

राजनीतिसँगै व्यावसायिक उखुखेतीमा जमेका जनप्रतिनिधि

कैलाली :  टीकापुर नगरपालिका–८ का धनसिंह साउद कृषि क्षेत्रमा सम्भावना देखेका किसान हुन्। राजनीतिसँगै कृषिबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण बनेका उनी बर्सेनि ६५ बिघाभन्दा बढी क्षेत्रफलमा खेती गर्छन् । साउदले धानखेतीमात्र ३० देखि ३५ बिघामा गर्दै आएका छन् । याम अनुसारको उत्पादनका साथै उन्नत बीउ उत्पादनलाई जोड दिँदै आएका उनले पछिल्लो समयमा उखुखेतीलाई प्राथमिकता दिन थालेका छन् ।

गत वर्ष उनले झन्डै ४५ बिघा उखुखेती गरेको जानकारी दिए । यस वर्ष थप आठ बिघा उखुखेती विस्तार गर्ने तयारी उनले गरेका छन्। बर्दियाको राजापुर नगरपालिकामा स्थापना भएको राजापुर सुगर एन्ड केमिकल्स इन्डस्ट्रिजले किसानले उत्पादन गरेको उखु सहजै खरिद गर्न थालेपछि अन्य खेतीभन्दा उखुलाई प्राथमिकता दिएको साउद बताछन् ।

“एकपटकको लागानीले पछिसम्म फाइदा लिन सकिन्छ भने बजार खोज्नुपर्ने स्थिति छैन”, उनले भने, “मूल्य पनि राम्रो पाइने भएपछि अन्य बालीभन्दा उखुलाई बढी प्राथमिकता दिइएको छ ।” चिनी उद्योगले किसानको उखु प्रतिक्विन्टल रु ६९० मा खरिद गर्दै आएको छ । रु ६२० किसानले उद्योगबाट पाउँछन् भने प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले उखु किसानलाई अनुदान दिँदै आएको छ । उसो त साउदले यस वर्ष सात बिघा आलुखेती पनि गरे ।

वडा नं ८ कै वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला उखुखेतीमा लामो समयदेखि लागेका छन् । दुई कार्यकाल वडाध्यक्षको जिम्मेवारीमा रहेका उनी निर्वाचित पूर्व कृषि क्षेत्रमै आबद्ध थिए । कृषिसँगै राजनीति गर्दै आएका वडाध्यक्ष ठकुल्ला केही वर्ष पहिले गाउँमा गुदमिल सञ्चालन गर्दै आृका थिए । अहिले गुदमिल भने छैन । गत वर्षबाट उनले पनि पुनः उखुखेती विस्तार गरेका छन् । सात बिघामा विस्तार गरिएको उखुखेती यस वर्ष थप विस्तार गर्ने योजनामा वडाध्यक्ष ठकुल्ला छन् ।


“आम्दानी राम्रो भएपछि ममात्र नभई किसान उखुखेतीमा लाग्न थालेका छन् । मैले पनि विस्तार गर्दै लगेको छु”, उनी भन्छन्, “बजारको सहजता र थोरै लगानीबाट राम्रो आम्दानी उखुखेतीले दिन थालेको छ ।”

राजनीति गरेर समाजसेवा भनेर मात्रै आर्थिक समृद्धि हासिल गर्न नसकिने भन्दै वडाध्यक्ष ठकुल्लाले उत्पादनलाई प्राथमिकतामा राखेर समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताए । “मैले समयको व्यवस्थापन गर्दै कृषिलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको छु । सिजनमा राम्रो आलु उत्पादन हुन्छ । मकै, धान, गहुँलगायतका बाली पनि लगाउँदै आएका छौँ । तर, पछिल्लो समय यस क्षेत्रमा उखुखेती लोकप्रिय बन्दै गएको छ ।” किसानले एक बिघामा ६०० क्विन्टलभन्दा बढी उखु उत्पादन गर्दै आएका छन् ।


टीकापुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने पनि लामो समयदेखि कृषि र व्यापारमा आबद्ध छन्। उनी बर्सेनि ९–१० बिघा खेती लगाउछन् भने २०५३ सालदेखि व्यापार गर्दै आएका छन् । कृषि, व्यापारसहित राजनीतिमा आबद्ध न्यौपाने पनि राजनीतिले सन्तुष्टिमात्र मिल्ने बताउछन्। “पैसा कमाउनका लागि व्यवसाय गर्नैपर्छ । व्यवसाय र राजनीतिलाई सँगसँगै लैजाँदा कुनै कुराको लोभ हुँदैन”, उनी भन्छन्, “आज राजनीतिमा भन्दा खेतमा काम गर्दा सन्तुष्टि मिल्छ । हामीले काम गरेको देखेर गाउँका युवाहरूमा काम गर्नुपर्छ भन्ने मानसिकता बढेको छ ।”

न्यौपानेले अन्य खेतीसँगै उखुखेतीलाई विस्तार गर्दै लगेका छन् । दुई बिघाबाट उखुखेती सुरु गर्दै आएका वडाध्यक्ष न्यौपाने यस वर्ष पुनः एक बिघा विस्तार गर्ने योजनामा हुनुहुन्छ । केही समय केराखेतीमा आकर्षित किसान पछिल्लो समय उखुखेतीमा आकर्षित हुँदै गएका छन् । लगानी सुरक्षित भएपछि किसानले उखुखेतीलाई प्राथमिकता दिन थालेको स्थानीय कृषक सुन्दर चौधरी बताउछन् ।

राजापुर सुगर एन्ड केमिकल्स इन्डस्ट्रिजले उद्योगको क्षमताअनुसार वार्षिक ३० देखि ३५ लाख क्विन्टल उखु आवश्यक पर्ने उद्योगका प्रशासनशाखाका प्रमुख इन्द्र ढकालले जानकारी दिए । उनका अनुसार उद्योगको पहुँचमा अहिलेसम्म छ–सात सय क्विन्टल उखुमात्र रहेको छ । पुस २२ गतेबाट चिनी उत्पादन सुरु गरेको उद्योग उखुको आपूर्ति पर्याप्त नहुँदा नियमित सञ्चालनमा ल्याउन नसकिएको प्रशासन प्रमुख ढकाल बताउछन्। रु दुई अर्ब लागतमा निर्माण भएको उद्योगको वार्षिक ३५ हजार ५०० मेट्रिक टन चिनी उत्पादन गर्ने क्षमता रहेको छ ।

उनले उखुखेती विस्तारको काममा उद्योगले समेत काम गर्दै आएको बताए । टीकापुर नगरपालिकालगायत क्षेत्रमा उद्योगले जग्गा भाडामा लिएर उत्पादन सुरु गरिरहेको बताउँदै ढकालले बर्सेनि सात हजार बिघामा उखुखेती आवश्यक पर्ने जानकारी दिए । “किसानलाई खेती विस्तारमा कम्पनीले काम गरिरहेको छ । अर्कातिर आफैँ पनि खेती विस्तार गर्दै आएको छ”, उनी भन्छन्, “कामदार अभाव, यातायातको सहज पहुँचलगायतका समस्या छन् ।”

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट