बागलुङ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारलाई मतादाता रिझाउन भ्याइनभ्याइ छ । बिहानैदेखि साँझसम्म मतदाताका घरदैलो र बारीमै पुगेर उम्मेदवारले मत मागी रहेका छन् । पटकपटक आश्वासन मात्रै पाएका मतदाताले यसपाली एजेण्डा र प्रतिबद्धता खोज्न थालेका छन् ।
काठेखोला गाउँपालिका–६ का कृष्णप्रसाद सापकोटाले किसानको उत्पादनलाई बजारीकरणको प्रबन्ध मिलाउन सक्ने नेतालाई भोट दिने बताए । हरेक वर्ष दशौँ लाखको तरकारी र फलफूल उत्पादन गर्न भए पनि बजारको अभावमा उचित मूल्य पाउन नसकेको उनको गुनासो छ । आफू विसं २०४८ देखि निरन्तर मतदानमा सहभागी हुँदै आएको सुनाउँदै अहिलेसम्म किसानका माग पूरा गर्ने नेता पाउन नसकेको कँडेलले बताए ।
कँडेलले भने, “पहिले–पहिले घरको काम छोडेर नेतालाई जिताउनुपर्छ भनेर हिँडियो, उनीहरूले चुनाव जितेर सांसद मन्त्री भए, हाम्रो समस्या जहाँको त्यही रहे, अहिले त किसानका काम गर्नु भन्नेलाई मात्रै मत दिने हो, पहिलेको जस्तो झुटा कुरा पत्याएर पछि हिड्न छोडियो, हाम्रा समस्या धेरै छन्, समयमा बीउ, मल पाइँदैन, उत्पादन गरेको वस्तुले मूल्य पाउँदैनन् ।”
बरेङ गाउँपालिका– १ का तमबहादुर थापाले गाउँको बसाँइसरा रोकेर उद्यमसँग जोड्न सक्ने उम्मेदवारलाई जिताउनु पर्ने बताए । बसाइँसराइले हरेक वर्ष गाउँबाट बजार झर्नेको संख्या बढ्दै गएको भन्दै यसलाई रोक्न कुनै नेताको ध्यान नगएको उनको भनाइ छ । गाउँमै कृषि, उद्यम गर्छ भन्ने किसान र युवालाई प्रोत्सान नहुँदा विदेश पलायन र बसाइँसराइ हुने गरेको थापा बताउछन् ।
“हामी गाउँका किसानले नेताबाट ठूलो अपेक्षा झैन, हामीहरूलाई गाउँमै बस्ने र उद्यम गर्ने वातावरण मिलाइ दिए हुन्छ, काम गरेर जीविका चलाउने कर्तव्य हाम्रो हो”, थापाले भने “अघिल्लो चुनावहरूमा नेताको चिल्ला कुरा धेरै सुनियो, अब हामीहरूलाई प्रतिबद्धता चाहिन्छ, हामी गाउँमै बस्न चाहन्छौँ, यहीँ केही गर्न चाहन्छौँ, त्यो वातावरण तयार बनाइ दिने नेताको खाँचो छ ।”
Nabil bank
बागलुङमा सबैभन्दा बढी बसाइँसराइ हुने पालिका जैमिनी हो । जैमिनीबाट हरेक वर्ष बसाइँसराइ गर्नेको सङ्ख्या ठूलो छ । गाउँमा लघु उद्यम, कृषि र राम्रो शिक्षाको सुविधा दिलाउन सक्ने उम्मेदवारलाई भोट दिने स्थानीय तोषिका विकले बताइन् । हुने खानेहरू सबै बजार झरि सकेको सुनाउँदै अहिले गाउँमा सामान्य परिवार मात्रै रहेको उनको भनाइ छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij