Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

सरकारको संरक्षणमा तिब्बती गतिविधि हुनु एक चीन नीतिमाथि ठाडो प्रहार हो : झलनाथ खनाल

सरकारको संरक्षणमा तिब्बती गतिविधि हुनु एक चीन नीतिमाथि ठाडो प्रहार हो : झलनाथ खनाल

काठमाडौँ : तिब्बती मूलका बौद्ध धर्मगुरु जोनाङ ग्याल्त्साब रिम्पोछेको नेपाल आगमन र काठमाडौँको बौद्धमा भइरहेको प्रवचनप्रति पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सरकारमाथि गम्भीर प्रश्न उठाएका छन् । 

मंगलबार नेपाली कम्युनिस्ट पार्टी, काठमाडौँ क्षेत्र नम्बर ८ अन्तर्गत वडा नम्बर –१५ को निर्वाचन परिचालन समिति सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै खनालले रिम्पोछेको नेपाल आगमन सामान्य धार्मिक गतिविधि मात्र नभई कूटनीतिक रूपमा संवेदनशील विषय भएको बताए ।  उनले सरकारकै संरक्षणमा यस्तो गतिविधि हुनुले नेपालको स्थापित एक चीन नीतिमाथि ठाडो प्रहार भएको टिप्पणी गर्दै यसले नेपाल–चीन सम्बन्धलाई इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुर्‍याएको आरोप लगाए । तिब्बती मूलका बौद्ध धर्मगुरु जोनाङ ग्याल्त्साब रिम्पोछे हाल काठमाडौँमा १० दिने बौद्ध धर्मसम्बन्धी प्रवचनमा सहभागी भइरहेका छन् ।
 
यही विषयलाई लिएर छिमेकी मित्रराष्ट्र चीनले कूटनीतिक असन्तुष्टि जनाएको चर्चा चलिरहेका बेला पूर्वप्रधानमन्त्री झलनाथ खनालको कडा प्रतिक्रिया आएको हो । ‘यस्तो गैरजिम्मेवार रवैयाले नेपाल–चीन सम्बन्धलाई इतिहासकै तल्लो स्तरमा पुर्‍याएको छ’ खनालले भने, ‘यसको असर केवल कूटनीतिक सम्बन्धमा मात्र सीमित नरही देशमा थप राजनीतिक संकट निम्त्याउने खतरा छ ।’ खनालले नेपालको भूराजनीतिक संवेदनशीलता र छिमेकी राष्ट्रहरूसँगको सन्तुलित सम्बन्धलाई बेवास्ता गर्दै गरिने कुनै पनि गतिविधि राष्ट्रिय हितविपरीत हुने चेतावनी दिए ।सरकारलाई उनले एक चीन नीतिप्रति स्पष्ट, दृढ र व्यवहारिक प्रतिबद्धता देखाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट