काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले स्थापनाकालदेखि हालसम्म बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय केन्द्रित रहेको परीक्षा प्रणालीलाई प्रदेशमा विकेन्द्रित गरेको छ ।
विद्यार्थीले वर्षौंदेखि देशका जुनसुकै कुनाबाट परीक्षा दिन पाउनुपर्ने माग गर्दै आएका थिए । पछिल्लो साता विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनले परीक्षा नियन्त्रण कार्यालय परिसरमा धर्ना दिएका थिए । त्यसपछि कार्यालय प्रशासनले उनीहरुसँग सहमति गरेको छ ।
परीक्षालाई क्रमशः विकेन्द्रित र सूचना प्रविधिमा आधारित बनाउँदै लैजान यसपटक काठमाडौँमा यही माघ १८ देखि तय भएको तीन वर्षे स्नातक तहको मौका परीक्षालाई माघ २५ गतेदेखि विद्यार्थीको सम्बद्ध प्रदेशमै दिन पाउने व्यवस्था मिलाइएको छ ।
काठमाडौँमा हुने भनिएकोमा परीक्षार्थीहरुलाई पर्ने असुविधा तथा आर्थिक भारलाई मध्यनजर गर्दै पूर्ववत सूचनाअनुसार हुने भनिएको परीक्षा क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय अन्तर्गत न्यूनतम एउटा परीक्षा केन्द्र रहने गरी २०८२ साल माघ २५ गतेदेखि सञ्चालन हुने’, सूचना प्रकाशन गरी जनाइएको छ । यसअनुसार मानविकी तथा सामाजिक शास्त्र, शिक्षा शास्त्र, व्यवस्थापन सङ्काय तथा विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फका परीक्षार्थीले आंशिक वा मौका परीक्षा दिन पाउने छन् ।
“परीक्षालाई विकेन्द्रित गर्दै लैजान यसो गरेका हौँ,” परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले भने । तीन वर्षे स्नातकजस्तै अन्य परीक्षालाई पनि यथासम्भव प्रदेशबाट गराइने उहाँले जानकारी दिए।त्रिभुवन विश्वविद्यालयका स्ववियु सभापति दीपकराज जोशीले विद्यार्थीसँग भएको सहमतिअनुरुप परीक्षा प्रणाली सुधारमा ढिलो भइरहेको बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij