Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ :  जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक ११ मुरी तिते फापर उत्पादन गरेको छ । गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘रैथाने बाली प्रवर्द्धन कार्यक्रम’अन्तर्गत विनियोजन गरिएको रु एक लाख बजेटबाट यस वर्ष ११ मुरी तिते फापर उत्पादन गरेको हो ।

गाउँपालिकाको लगानीमा उत्पादन गरिएको औषधीय गुण भएको तिते फापर बिक्रीका लागि प्रतिकेजी रु ९० मूल्य निर्धारण गरिएको गाउँपालिका प्रमुख अरुणादेवी राईले जानकारी दिइन्। “तिते फापर लोप हुँदै गएको छ । यो स्वास्थ्यका लागि फाइदाजनक छ । गाउँपालिकाले रैथाने बाली प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । यही कार्यक्रमअन्तर्गत यस वर्षदेखि तिते फापर उत्पादन सुरु गरिएको हो”, उनले भनिन्, “गाउँपालिकाले उत्पादन गरेको तिते फापर बिक्रीका लागि भण्डारण गरेर राखिएको छ । खरिद गर्न इच्छुक महानुभावले चिसापानी बजार आएर प्रतिकेजी रु ९० मूल्यमा लिनसक्नुहुन्छ ।”

गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत वडा नं ४ डम्बर्खुशिवालयको भञ्ज्याङखर्कमा सरकारी तथा पर्ती जग्गामा तिते फापर खेती लगाएको थियो । तिते फापरखेतीका लागि जमिन खनजोत गर्न, बीउ छर्न, उत्पादित फापर काट्ने र उठाउने काममा पारिश्रमिक दिएर कामदार लगाइएको गाउँपालिकाका कृषि विकास शाखा प्रमुख काजोल कुश्माले जानकारी दिइन् ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने यो जन्तेढुङ्गा गाउँपालिकाले यसअघि सोही ठाउँको बाँझो जमिन उपयोग गरेर छ हजार केजी आलु उत्पादन गरेको थियो । आलुखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आव २०८१/०८२ मा उपलब्ध गराएको रु १५ लाख सशर्त बजेटमध्ये रु सात लाख लगानी गरेर गाउँपालिकाले आलु फलाएको हो ।

गाउँपालिकाले भञ्ज्याङखर्कमा रहेको करिब ६१ रोपनी सार्वजनिक बाँझो जमिन फोरेर गत फागुनमा आलुखेती लगाएको थियो । गाउँपालिकाको आन्तरिक आयश्रोत वृद्धि गर्ने उद्देश्यले बाँझो जमिन फोरेर भञ्ज्याङखर्कमा रोपिएको आलु खन्नका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी स्थानीयवासीलाई लगाइएको थियो ।

बाँझो जमिन उपयोग गरेर उत्पादन गरिएको आलुलाई गाउँपालिकाको केन्द्र चिसापानी बजारमा सञ्चालन गरिएको कोसेली घरमा भण्डार गर्दै सुपथ मूल्य पसल सञ्चालन गरेर बिक्री गरिएको गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिए। “वर्षौंदेखि बाँझिएर उपयोगविहीन भएको सार्वजनिक जग्गा फोरेर आलुखेती लगाएका थियौँ । आलुखेती प्रवद्र्धन कार्यक्रमले उत्पादनमा जोड दिनुपर्छ भन्ने सिकाइ भएको छ”, उनले भने, “गाउँपालिकाले सञ्चालन गरेको आलुखेती प्रवद्र्धन कार्यक्रममा रु तीन लाख बराबरको श्रमदान जुटाइएको थियो । उत्पादित आलुलाई ग्रेडिङ गर्दै साना–साना दानालाई भने सोही ठाउँमा रोप्न बीउको रूपमा राखेका छौँ ।”

गाउँपालिकाले निर्वाहमुखी खेती प्रणाली अपनाउँदै आएका स्थानीय नागरिकलाई व्यावसायिक बनाउन प्रोत्साहन रकमसमेत उपलब्ध गराउँदै आएको छ । गाउँपालिकाको १७ औँ गाउँसभाले गाउँपालिकाका स्थानीयवासीलाई व्यावसायिक कृषि प्रणालीमा लैजान उत्पादनमा जोड दिने किसिमका नीति तथा कार्यक्रम बनाएको छ ।

छिमेकी जिल्ला भोजपुरको सिमानामा रहेको ठूलाठूला घाँसे मैदान रहेको भञ्ज्याङखर्कमा आगामी आव पनि आलुखेती लगाउने योजना बनाइएको गाउँपालिकाले जनाएको छ । आलुखेतीका लागि मल उत्पादन गर्न वडा कार्यालय डम्बर्खुशिवालयले भैँसी खरिदका लागि बजेटसमेत विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij