काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर आज बिहानदेखि बाक्लो कुहिरो र बादल लागेका कारण दैनिक जनजीवन प्रभावित बनेको छ । पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले मौसम धुमिल बनेपछि सडक यातायात, हवाई उडान र स्थानीय बासिन्दाको दैनिकीमा ठुलो असर परेको हो ।
कुहिरोका कारण सडक दुर्घटनाको जोखिम पनि बढेको छ । खराब मौसम र कम भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अधिकांश उडान ढिलो भएका छन् भने केही उडान रद्द समेत भएका छन् ।
त्रिभुवन विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार एयर इन्डियाका दुईवटा जहाजहरू भिजिबिलिटी कम भएका कारण अवतरण गर्न नसकी डाइभर्ट भएका छन् । यस्तै, चीनबाट आएको चाइना साउदर्न र दोहाबाट आएको नेपाल वायुसेवा निगमको वाइड बडी विमानलाई सिमराको आकाशमा केही समय होल्ड गरिएको थियो।
सिटौलाले केही जहाजलाई अवतरणका लागि २२०० मिटर भिजिबिलिटी आवश्यक पर्नेमा केही समयअघि २००० मिटर मात्रै रहेकाले अवतरणमा समस्या भएको जानकारी दिए । यद्यपि अहिले मौसममा क्रमिक सुधार आएसँगै भिजिबिलिटी २५०० मिटर पुगेको र होल्डमा रहेका जहाजहरू अवतरण हुन थालेको विमानस्थल कार्यालयले जनाएको छ ।
यसैगरी पहाडी तथा हिमाली जिल्लाहरूमा वर्षा र हिमपातले स्थानीय बासिन्दाको जनजीवन थप कष्टकर बनेको छ । यस्तै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा अहिले मध्यम वर्षा भइरहेको छ भने उच्च क्षेत्रमा हिमपातले सडक अवरुद्ध बनेका छन् ।
कोशी र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षाले पनि दैनिक कामकाजमा बाधा पुर्याएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार यो प्रभाव केही दिन कायम रहने देखिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij