चितवन : नेपालको मध्य भागमा अवस्थित चितवनको भरतपुर महानगरपालिकास्थित भरतपुर अस्पताललाई शैक्षिक, अनुसन्धान तथा विशिष्ट उपचार सेवाको राष्ट्रिय केन्द्रका रूपमा विकास गर्ने महत्वाकांक्षी पहल सुरु भएको छ।
भरतपुर अस्पतालमा २०५९ देखि २०६८ सालसम्म सेवा प्रदान गरिसक्नु भएका डा. ढुण्डीराज पौडेल हालै स्वास्थ्य मन्त्रालयद्वारा रिक्त रहेको भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदको जिम्मेवारी पाउनुभएको हो। केन्द्रीय अस्पताल वीरबाट करिब ६.५ वर्षअघि सेवा निवृत्त भई हाल कोहलपुरस्थित मेडिकल कलेजमा प्राध्यापकका रूपमा कार्यरत रहँदै आउनु भएका डा. पौडेलले यस जिम्मेवारीलाई चुनौती र अवसर दुवै का रूपमा लिनुभएको छ।
केन्द्रीय संघीय क्यान्सर अस्पताल, दुई निजी मेडिकल कलेजजस्ता संस्थाहरूको उपस्थिति हुँदाहुँदै पनि भरतपुर अस्पतालमा दैनिक करिब २५०० भन्दा बढी बिरामी ओपीडी सेवा लिने गरेका छन्। ६०० शैयाको अस्पतालमा ९० प्रतिशतभन्दा बढी बेड अकुपेन्सी, २०० भन्दा बढी चिकित्सकहरूद्वारा सामान्य, विशिष्ट तथा अतिविशिष्ट सेवा, साथै अन्य संस्थाहरूद्वारा समेत उपयोग भइरहेको पर्याप्त जमिन उपलब्ध हुनुजस्ता कारणहरूले यो अस्पताललाई शैक्षिक तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्न उच्च सम्भावना रहेको देखिन्छ।
यी आधारहरूलाई मध्यनजर गर्दै डा. पौडेलको नेतृत्वमा भरतपुर अस्पताललाई एमबिबिएस, एमएड, एमडी, डीएम, एमसिएच लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न सक्ने गरी छुट्टै ऐन/कानुनी प्रबन्धसहित “राष्ट्रिय चिकित्सा विज्ञान संस्थान (National Institute of Medical Science)” र “भरतपुर शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्र (Bharatpur Teaching Hospital and Research Center)” का रूपमा विकास गर्ने प्रस्ताव तयार पारिँदैछ।
श्रोत, साधन, सामर्थ्य र औचित्यका दृष्टिले यो पहल आवश्यक मात्र नभई कर्तव्यसमेत भएको बताउँदै डा. पौडेलले आफ्नो नियुक्तिको सार्थकता यही लक्ष्य प्राप्तिमा निर्भर रहने स्पष्ट पार्नुभएको छ। उहाँले यस महान उद्देश्यका लागि विगतदेखि सहयोग, हौसला र प्रेरणा प्रदान गर्दै आउनु भएका सबै सरोकारवालाबाट निरन्तर सहयोगको अपेक्षा समेत व्यक्त गर्नुभएको छ।
यदि यो लक्ष्य हासिल हुन सकेमा भरतपुर अस्पतालले राष्ट्रिय स्तरमै शिक्षा, उपचार र अनुसन्धानको एक सशक्त केन्द्रको रूपमा नयाँ पहिचान स्थापित गर्ने विश्वास गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij