Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

चितवनका तीनै निर्वाचन क्षेत्रमा एमालेले फेर्‍यो उम्मेदवार

चितवनका तीनै निर्वाचन क्षेत्रमा एमालेले फेर्‍यो उम्मेदवार

चितवन : नेकपा (एमाले) ले चितवनका तीनै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नयाँ उम्मेदवार चयन गरेको छ । फागुन २१ गते हुने निर्वाचनका लागि एमालेले यसपटक तीनै क्षेत्रमा युवा र नयाँ अनुहारलाई अघि सारेको हो ।

यसअघिका निर्वाचनहरूमा चितवनबाट सुरेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल, लालमणि चौधरी, काशिनाथ अधिकारी र राम न्यौपानेलगायत नेताहरू उम्मेदवार बन्दै आएका थिए । तर यसपटक ती नेताहरू लड्दै आएका क्षेत्रमै नयाँ उम्मेदवारलाई टिकट दिइएको छ ।

चितवन–१ : कमलराज पाठकलाई टिकट

चितवन–१ बाट २०७०, २०७४ र २०७९ मा चुनाव लडेका पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे यसपटक क्षेत्रीय तथा जिल्ला समितिको सिफारिसमै परेनन् । २०७० र २०७४ मा विजयी भएका पाण्डे २०७९ मा पराजित भएका थिए । तत्कालीन नेकपा विवादका क्रममा ‘१० भाइ समूह’ मा रहेका उनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसपटक टिकट नदिई एमाले चितवनका अध्यक्ष कमलराज पाठक लाई उम्मेदवार बनाएका छन् ।

पाठकले आगामी निर्वाचनमा रास्वपाका हरि ढकाल सँग प्रतिस्पर्धा गर्नेछन् । ढकाल यसअघि सोही क्षेत्रबाट निर्वाचित भइसकेका नेता हुन् । चितवन–१ अन्तर्गत राप्ती, खैरहनी र रत्ननगर नगरपालिकाका सबै वडा पर्दछन् । नेकपा र कांग्रेसले भने अझै उम्मेदवार टुंग्याएका छैनन् ।

चितवन–२ : अस्मिन घिमिरेलाई अघि सारियो

चितवन–२ मा एमालेले रास्वपा सभापति रवि लामिछाने विरुद्ध युवा उम्मेदवार अस्मिन घिमिरे लाई मैदानमा उतारेको छ । कलाकारितासँगै राजनीतिमा सक्रिय घिमिरेलाई अध्यक्ष ओलीले टिकट दिएका हुन् ।

२०७४ मा एमालेका कृष्णभक्त पोखरेल विजयी भएको यो क्षेत्रमा २०७९ को निर्वाचन र २०८० को उपनिर्वाचनमा रवि लामिछानेले जित हात पारेका थिए । २०८० को उपनिर्वाचनमा एमालेले राम न्यौपानेलाई उम्मेदवार बनाए पनि पराजय भोग्नुपरेको थियो । चितवन–२ अन्तर्गत इच्छाकामना गाउँपालिका, कालिका नगरपालिकाका सबै वडा तथा भरतपुर महानगरपालिकाका १–५, ७, १०, ११, १२ र २९ नम्बर वडाहरू पर्दछन् । यस क्षेत्रमा पनि नेकपा र कांग्रेसले उम्मेदवार टुंग्याउन सकेका छैनन् ।

चितवन–३ : शंकर थपलियालाई टिकट

चितवन–३ मा एमालेले नयाँ उम्मेदवार शंकर थपलिया लाई टिकट दिएको छ । थपलिया एमाले भरतपुर महानगर कमिटीका अध्यक्ष हुन् । यो क्षेत्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परम्परागत निर्वाचन क्षेत्र मानिन्छ । २०७९ मा प्रचण्ड गोरखा गएपछि माओवादीले डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाएको थियो भने सो निर्वाचनमा राप्रपाका विक्रम पाण्डे विजयी भएका थिए ।

आगामी निर्वाचनमा चितवन–३ बाट रास्वपाले सोविता गौतम, नेकपाले भरतपुर महानगरपालिकाकी मेयर रणु दाहाल र राप्रपाले विक्रम पाण्डे लाई उम्मेदवार बनाउने तयारी गरेको छ । कांग्रेसले भने हालसम्म उम्मेदवार चयन गरेको छैन । चितवन–३ अन्तर्गत माडी नगरपालिकाका ९ वडासहित भरतपुर महानगरपालिकाका ६, ८ तथा १३ देखि २९ नम्बर वडाहरू पर्दछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij