Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

लगातार बाघ आक्रमणका घटनाले बस्तीमा त्रास

लगातार बाघ आक्रमणका घटनाले बस्तीमा त्रास


सल्यान : बस्ती छिरेको नरभक्षी बाघको डरले सल्यानको कालिमाटी आसपासका बासिन्दा घरभित्रै सीमित बनेका छन्। नरभक्षी बाघले जिल्लाको कालिमाटी गाउँपालिका– ५, ६, ७ र सुर्खेतसित सिमाना जोडिएका बस्तीमा आक्रमण गरेर लगातार तीन जनाको ज्यान लिएपछि त्रास बढेको हो।

बाघको आक्रमणबाट पुस २३ गते सुर्खेतको भेरीगंगा–५ गेरुवानीकी ५७ वर्षीया गंगादेवी सारुमगर, पुस २५ गते कालिमाटी–७ की ४२ वर्षीया धनसरी रावत र पुस २८ कालिमाटी–६, हात्तीढुंगाका वर्ष ६५ चन्द्रबहादुर खप्तडीको ज्यान गएको हो । घाँसदाउरा गर्न गएका बेला आक्रमणमा गरेर गंगादेवी र धनसराको ज्यान लिएको थियो। घट्टबाट पिठो पिसाएर फर्किरहेका बेला खप्तडीको ज्यान लिएको थियो।

नरभक्षी बाघले स्थानीय किसानका पशु चौपाया समेत मारिरहेको छ । निकुन्जबाट खटिएको नेपाली सेनाको टोलीले बाघ नियन्त्रणमा लिन सकेको छैन । जसले गर्दा स्थानीय डराइरहेका छन् । त्रासका कारण घरबाट बाहिर निस्कन छाडेका छन । तीनवटा वडाका स्थानीयले घर बाहिर गएर गर्नुपर्ने अत्यावश्यक काम प्रभावित भएको दुखेसो गरेका छन् । सेनाको टोलीले नियन्त्रणमा लिन नसकेको र राज्यले ज्यान भन्दा बाघ संरक्षणलाई महत्व दिएको भन्दैं स्थानीयले प्रदर्शन समेत गरेका छन्।

उनीहरुले तत्काल नरभक्षी बाघ नियन्त्रणमा सम्बन्धित निकाय समक्ष आग्रह गरेका छन्। त्यतिमात्र नभइ वडा कार्यालय र पालिकाले सर्वसाधारणको ज्यान बचाउन नरभक्षी बाघलाई मार्न सम्बन्धित निकायमा पत्राचार गरेका छन् ।

बाघ आतंकले घरभित्रै लुकेर बस्नुपर्ने र बाहिर निस्कनु पर्दा समूह बनाउने गरेको कालिमाटी–७ घुईयाबारीका हिमाल पुनले बताए । बाघले तीन जना मारेको र दैनिक बस्तुभाउ मारेर खाइरहेको उनले बताए। निकुन्जले सीमा क्षेत्रमा तारबारको व्यवस्था नगर्दा बाघ बस्ती छिरेर स्थानीयको ज्यान जोखिममा पारेको कालिमाटी–७ का वडाध्यक्ष मित्रलाल रिजालले बताए। उनका अनुसार नेपाली सेनाको टोलीले बाघको खोजी गरे पनि अहिलेसम्म पत्ता लगाउन सकेको छैन।

बाघ आतंकले कालिमाटी–५, ६ र ७ वडाका साथै सम्पूर्ण पालिकाका बासिन्दा असुरक्षित भएको गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीकेसीले बताए । सर्वसाधारणको ज्यानभन्दा जंगली जनावर प्यारो हुन नसक्ने भन्दै डिभिजन वन कार्यालय सल्यानलाई बाघ मार्न सिफारिसका लागि पत्राचार गरिएको उनले जानकारी दिए।

 

बाघ मार्ने या नियन्त्रणमा लिने भन्ने विषयमा बिहीबार सुरक्षा समितिको बैठक बस्ने जिल्ला प्रहरीका डीएसपी हेमबहादुर केसीले बताए। बस्तीनजिकै तथा जंगलमा घाँसदाउरा गर्न गएको बेला सर्वसाधारणलाई आक्रमण गर्ने बाघलाई त्यसै छाडन नहुने उनले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij