Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

सप्तकोशीको बोराबाँध क्षेत्रमा देखिन थाल्यो दुर्लभ सोँस, पर्यटकको आकर्षण बढ्दै

सप्तकोशीको बोराबाँध क्षेत्रमा देखिन थाल्यो दुर्लभ सोँस, पर्यटकको आकर्षण बढ्दै

वराहक्षेत्र: नेपालका नदी–नालामा दुर्लभ मानिने सोँस (डल्फिन) सप्तकोशी नदीको सूर्य अस्त अवलोकनस्थलका रूपमा चिनिँदै गएको बोराबाँध क्षेत्रमा देखिन थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्न थालेको छ ।

गत मङ्सिरदेखि सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्ने स्थलका रूपमा परिचित बनेको बोराबाँध क्षेत्रमा पछिल्लो एक महिनादेखि सोँस देखिन थालेपछि पर्यटकको आवागमन बढेको स्थानीयवासी बताउँछन् ।

गङ्गाको बाघका रूपमा चिनिने सोँस धेरै वर्षपछि कोशी ब्यारेजभन्दा करिब २० किलोमिटर उत्तर सप्तकोशी नदीको बोराबाँध क्षेत्रमा देखिन थालेको डल्फिन संरक्षणमा क्रियाशील संरक्षणकर्मी लभ केसीले जानकारी दिनुभयो । उहाँका अनुसार जलीय स्तनधारी जन्तुहरूमध्ये सङ्कटापन्न अवस्थामा रहेको सोँस विगतमा कोशी ब्यारेजको दक्षिणी क्षेत्रदेखि वराहक्षेत्र मन्दिर आसपाससम्म देखिने गरेको इतिहास छ ।

स्थानीय चरा तथा वन्यजन्तु संरक्षणकर्मी विमल तिम्सिनाका अनुसार सप्तकोशी नदीकिनारबाट देखिने सूर्यास्त, बालुवाका कण र पानीमा पर्ने सूर्यका किरणको दृश्यसँगै सोँस अवलोकन गर्न पर्यटकहरू बोराबाँध पुग्ने गरेका छन् ।

स्वच्छ र अविरल बग्ने पानीमा मात्र पाइने सोँसको सङ्ख्या पछिल्ला वर्षहरूमा घट्दै गएको बताइएको छ । नेपालमा कोशी, कर्णाली र नारायणी नदीमा मात्रै पाइने दुर्लभ गङ्गेटिक प्रजातिका सोँस (डल्फिन) मासिँदै गए जलिय पारिस्थितिक प्रणालीमा गम्भीर असर पुग्ने संरक्षणकर्मी लभ केसीको भनाइ छ । उहाँका अनुसार नदीको प्राकृतिक संरचना बिग्रँदा जलिय जैविक विविधतामा समेत नकारात्मक प्रभाव पर्छ ।

हिन्दु धर्मग्रन्थ महाभारतमा समेत सोँसलाई मत्स्यकन्या उलुपीको नामबाट वर्णन गर्दै यसको सिकार गर्न नहुने उल्लेख गरिएको छ । सोँस संरक्षणका लागि सबै सरोकारवाला निकायले साझा पहल गर्नुपर्ने संरक्षणकर्मीहरूको जोड छ ।

दुई दशकअघिसम्म बराहक्षेत्र मन्दिरको पश्चिमपट्टिको कोशी नदीको भुमरी क्षेत्र र कोशी ब्यारेज आसपास सोँस सहजै देख्न सकिन्थ्यो । तर २०६५ सालमा कोशी नदी फुटेपछि ब्यारेजभन्दा उत्तरतर्फ सोँस कमै मात्रामा देखिन थालेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij