Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

सर्लाहीको बलरा नगरपालिकाका मेयरसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सर्लाहीको बलरा नगरपालिकाका मेयरसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बलरा नगरपालिकाका नगर प्रमुख (मेयर) रामशंकर प्रसाद कुशवाहा सहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

नगरपालिकामा आर्थिक वर्ष २०८०/८१ मा सञ्चालित ‘किशोरीहरूको लागि खेलौना बनाउने तालिम’ का क्रममा फर्जी कागजात बनाई सरकारी रकम हिनामिना गरेको अभियोगमा आयोगले आज (सोमबार) मुद्दा दायर गरेको हो।

आयोगका अनुसार नगरपालिकाले ३० दिनसम्म सञ्चालन गर्ने भनिएको उक्त तालिम जम्मा ५ दिन मात्र चलाएर सम्पन्न गरेको पाइएको छ । तालिम नै पूरा नगरी झुट्टा बिल भर्पाई, नक्कली प्रतिवेदन र सहभागीहरूको कीर्ते हस्ताक्षर गराई ३ लाख ८२ हजार ५३ रुपैयाँ भुक्तानी दिइएको अनुसन्धानबाट खुलेको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा सहभागीहरूको हस्ताक्षर समेत नक्कली भएको पुष्टि भएको आयोगले जनाएको छ।

मुद्दा दायर गरिएकाहरूमा मेयर कुशवाहसहित वडाध्यक्ष मनोज मोहनकुमार सिंह, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुशील कुमार साह, योजना शाखा प्रमुख उदयकुमार साह, सहायक लेखापाल राजकुमार महतो रहेका छन्। त्यस्तै, तालिम सञ्चालन गर्ने संस्था शान्ति विकास कल्याण केन्द्रका अध्यक्ष सविन्द्र नारायण साह, सदस्य उमेशकुमार पासवान र जाजुल मिया कवारीलाई पनि विपक्षी बनाइएको छ।

आयोगले उनीहरूमाथि ३ लाख ८२ हजार ५३ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र बिगो बराबरको जरिवाना सजायको माग दाबी गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बुधबार जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij