Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

बाराका किसान भन्छन्– आलुको उचित मूल्य पाएनौँ

बाराका किसान भन्छन्– आलुको उचित मूल्य पाएनौँ

बारा : बाराका किसान यतिबेला आलुले मूल्य नपाएकोमा चिन्तित छन् । व्यापारीहरू आलु खरिद गर्न बारीमै पुग्ने गरे पनि उचित मूल्य नपाएको किसानको गुनासो छ । कलैया उपमहानगरपालिका–१० मट्टीअर्वाका रोज मियाँ दर्जीले यस वर्ष २ बिघा १० कट्ठामा आलु खेती गरेका छन् । असोज दोस्रो साता लगाएको आलु उनले यसै साता भित्र्याएका हुन् । आलु खरिद गर्न व्यापारीहरू आफ्नो बारीमै आएको दर्जीले बताए । यद्यपि, बजार मूल्य र आफ्नो लागत अनुसार रकम पाउन नसकेको उनको गुनासो छ ।

व्यापारीहरूले किसानसँग प्रतिकिलो २० रुपैयाँको दरले आलु खरिद गरेका छन् । ‘९० हजार रुपैयाँको बिउ र ८० हजारको मलखाद लागेको छ । औषधि र जोताई खर्च पनि धेरै लागेको छ,’ दर्जीले भने, ‘नेपालमा मल पाइँदैन । डीएपी, युरिया, पोटासजस्ता रासायनिक मल भारतबाट ल्याउनुपर्छ ।’

भारतसँग सीमावर्ती क्षेत्र जोडिएको कलैयाको मट्टीअर्वा नाकाबाट ठुलो मात्रामा आलु नेपाल भित्रिने गरेको किसानहरूको भनाइ छ । ‘चोरी बाटो हुँदै भारतबाट ट्याक्टरमा सस्तो आलु नेपाल आउँदा हाम्रो आलुले मूल्य पाएन,’ दर्जीले भने ।

उपभोक्ताले ५० देखि ६० रुपैयाँ प्रतिकिलोका दरले आलु खरिद गर्नुपरेको तर व्यापारीले किसानसँग २० रुपैयाँ प्रतिकिलोको दरले आलु खरिद गर्ने गरेको स्थानीय कृषक बताउँछन् । आफूले आलु रोप्नेबेला ४० रुपैयाँ प्रतिकिलोमा बिउ खरिद गरेको तर, यति मेहनत गरी भित्र्याउँदा २० रुपैयाँ प्रतिकिलोभन्दा मूल्य नपाएको उनीहरूको गुनासो छ ।व्यावसायिक रूपमा वर्षौंदेखि आलुखेती गर्दै आएका किसान आलुको उत्पादकत्वसमेत पहिलाजस्तो नरहेको बताउँछन् ।

केही वर्ष अघिसम्म प्रतिकट्ठा १० क्विन्टलसम्म आलु फल्ने खेतमा अहिले ५ देखि ६ क्विन्टलमात्रै फल्न थालेको किसानको भनाइ छ । यस वर्ष बेमौसमी वर्षाले समेत आलु बालीमा क्षति पुगेको किसानहरूको गुनासो छ ।

मट्टीअर्वाका अर्का किसान अनोहर मियाँले यस वर्ष १२ कट्ठामा आलु खेती गरेका छन् । मलखाद, खनजोत, गोडमेल लगायतमा धेरै खर्च लाग्ने बताउँदै उनले चोरी तस्करी गरी भारतबाट ल्याउने आलुका कारण नेपाली किसान मर्कामा परेको बताए । बाराका किसानहरूले उत्पादन गरेको आलु व्यापारीहरूले वीरगञ्ज, नारायणगढ, जनकपुर, काठमाडौँ लगायतका बजारमा पु¥याउने गर्दछन् ।

पचरौता नगरपालिका–३, रामनगरका आलु व्यवसायी राजेशलाल सहनी बाराको ग्रामीण भेगमा किसानहरूले उत्पादन गरेको आलु खेतसम्मै पुगेर उठाउने गरेको बताउँछन् । ‘हामी साना व्यापारीलाई पनि धेरै दुःख छ,’ उनले भने, ‘आलु बोकेको गाडी ठाउँठाउँमा रोक्न लगाएर प्रहरीले धेरै दुःख दिन्छ ।’ बारामा पचरौता, सुवर्ण गाउँपालिका, कलैया उपमहानगरका ग्रामीण भेगमा राम्रो आलु उत्पादन हुने व्यापारीहरूको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बाराको खुला सीमावर्ती क्षेत्रबाट आलु आयात भइरहेको विषयमा कुनै सूचना नआएको बताए । उनले त्यसरी भारतीय आलु आयात भएको हो भने प्रहरीलाई सचेत गराइने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij