काठमाडौँ : नेपालले प्रक्षेपण गरेको सानो आकारको भूउपग्रह (नानो स्याटेलाइट) मुनाल अन्तरिक्षमा अड्किएको छ।बुधबारको गोरखापत्रमा समाचार छ, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को पहल र छिमेकी मुलुक भारत सरकारको सहयोगमा सोमबार प्रक्षेपण गरिएको नानो स्याटेलाइट मुनाल अन्तरिक्षको सही अर्बिटमा नपुगी मोडिएर अड्किएको हो।
भारतको विदेश मन्त्रालय र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनको पहलमा श्रीहरिकोटस्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट सोमबार बिहान करिब १०ः३० बजे मुनाल भूउपग्रह प्रक्षेपण भएको थियो।
काठमाडौँ विश्वविद्यालय तथा विभिन्न विद्यालयका उच्च माध्यमिक तहका विद्यार्थीले उक्त भूउपग्रह निर्माण गरेका थिए। दुई वर्षअघि निर्माण सम्पन्न भए पनि प्रक्षेपणको समय बल्ल मिलेको नास्टका सदस्यसचिव रवीन्द्र ढकालले जानकारी दिनुभयो।
‘प्रक्षेपण भएर अन्तरिक्षको ४६० किलोमिटरमाथिसम्म पुग्यो तर प्राविधिक समस्या आएर जहाँ जानुपर्ने थियो, त्यता नगई डाइभर्ट भएर अन्तै मोडियो’, उनले भने।” पाँच वर्षअघि प्रक्षेपण भएको नेपालको पहिलो भूउपग्रह नेपाली स्याट वान नामक भूउपग्रह अन्तरिक्षको ४०० किलोमिटरमाथि पुगेर सफल भएको थियो।
ढकालका अनुसार अन्तरिक्षमा बेपत्ता भएको मुनाल भूउपग्रह भेटिए पनि आफ्नो कक्षमा फर्काउन सकिने अवस्था छैन। विद्यार्थीको मेहनत र नेपाल सरकारको प्रतीक्षामा तत्काल रोक लागेको छ, नेपालसहित अन्य भूउपग्रह पनि प्रक्षेपण रकेटमा थिए। अन्तरिक्षमै नपुगी असफल हुनुभन्दा अन्तरिक्षसम्म पुगेकोमा पनि सन्तोष मान्नुपर्ने ढकालले बताए।
प्रक्षेपणका लागि नास्टका उपकुलपति डा. दिलीप सुब्बा, सदस्यसचिव डा. रवीन्द्र ढकाल र भूउपग्रह निर्माणका लागि सहयोग गरिरहेका इन्जिनियर हरिराम श्रेष्ठ भारत पुगेका थिए। सदस्यसचिव ढकालले ‘मुनाल टु’ निर्माण र प्रक्षेपणको तयारी फर्केलगत्तै थालिने जानकारी दिए।
सो भूउपग्रहले वनस्पति अनुगमन, स्वदेशी प्रविधि परीक्षण र कृत्रिम बौद्धिकता (एआई) मा आधारित तथ्याङ्क विश्लेषण तथा प्रशोधनमा सघाउने अपेक्षा गरिएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij