काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ। प्राधिकरणले सूचना प्रकाशन गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न तीन वटा फिडरमा विद्युत् कटौती हुने जनाएको हो।
प्राधिकरणका अनुसार गणेशस्थान फिडर, भङ्गाल फिडर र शिवपुरी फिडर मातहतका क्षेत्रमा बिजुली कटौती हुने जानकारी गराएको हो। फिडरको भार (लोड) मिलाउन तथा नयाँ पासिकोट फिडर निर्माण गरी ब्रेकर तथा भूमिगत तार चार्ज गर्ने प्रयोजनका लागि बिजुली कटौती गर्न लागिएको हो।
सूचना अनुसार गणेशस्थान फिडरमा आज बिहान ११ः३० बजेदेखि अपराह्न १ः३० बजेसम्म भोटे चोक, गणेशस्थान आसपासका क्षेत्रका बिजुली कटौती हुनेछ। त्यस्तै भङ्गाल फिडरको तल्लो भङ्गाल, धोविखोला करिडोरलगायत क्षेत्रमा दिउँसो ११ः३० बजेदेखि अपराह्न १ बजेसम्म बिजुली कटौती हुनेछ।
यसैगरी शिवपुरी फिडरको बुढानिलकण्ठ नगरपालिकाको पासिकोट, च्यासिङडोललगायत क्षेत्रमा दिउँसो १ बजेदेखि २ बजेसम्म बिजुली कटौती हुने सूचनामा उल्लेख छ। तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएको खण्डमा सूचनामा उल्लेखित समयभन्दा अगावै बिजुली नियमित हुने प्राधिकरणले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij