Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन

वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन

काठमाडौं : वरिष्ठ पत्रकार तथा लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि निरन्तर संघर्षरत व्यक्तित्व होमनाथ दाहालको निधन भएको छ। उपचारका लागि मैतीदेवीस्थित निवासबाट वीर अस्पताल ल्याउने क्रममा उनको निधन भएको हो। उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

विसं १९९८ कात्तिक २५ गते ओखलढुङ्गाको साविक वरुणेश्वर गाउँ विकास समिति–३, रामपुरमा जन्मिनु भएका दाहाल नेपालको पत्रकारिता क्षेत्रको विकास, अभिव्यक्ति स्वतन्त्रताको रक्षा र लोकतन्त्र स्थापनाका लागि अदम्य साहस, निष्ठा र संघर्षका प्रतीकका रूपमा परिचित थिए।  

पञ्चायतकालको कठोर निरंकुश शासनमा समेत अन्यायका विरुद्ध सत्यको पक्षमा कलम चलाउँदै उहाँले जनताको आवाज बुलन्द पार्न महत्त्वपूर्ण योगदान दिए।

स्वर्गीय जीवनाथ दाहाल र नीलकुमारी दाहालका सुपुत्र दाहालले एमए सम्मको उच्च शिक्षा हासिल गरेका थिए।  साहित्यिक चेतनाले ओतप्रोत उहाँको पत्रकारिता यात्रा विचार, सिद्धान्त र व्यवहारको सशक्त संयोजनका रूपमा स्थापित रह्यो। उनका श्रीमती सुधा दाहाल तथा छोरा सुधांशु दाहाल र हिमांशु दाहालछन्।  पञ्चायतकालमा “राष्ट्रपुकार साप्ताहिक” मार्फत प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाउँदा उन पटक–पटक पक्राउ पर्नुका साथै करिब तीन वर्ष जेल जीवन बिताउन बाध्य भएका थिए। यद्यपि, ती कठिन परिस्थितिले उनको साहस र प्रतिबद्धतालाई अझ सुदृढ बनायो।

दाहालले गोरखापत्र संस्थानका अध्यक्ष तथा महाप्रबन्धकका रूपमा कार्यभार सम्हाल्दै नेपालको जेठो सञ्चारगृहलाई समयानुकूल सुधार र प्रगतितर्फ अघि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij