Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

निराशाबीच आशाः २ अर्बमा बनेको वेस्ट वेस्टेन प्लस गोदावरीको ओपनिङ फेब्रुअरीमा

निराशाबीच आशाः २ अर्बमा बनेको वेस्ट वेस्टेन प्लस गोदावरीको ओपनिङ फेब्रुअरीमा

काठमाडौं : लगानीको वातावरणप्रति निराशा बढिरहेका बेला ललितपुरको गोदावरीमा करिब २ अर्ब रुपैयाँको लगानीमा निर्माण गरिएको ‘वेस्ट वेस्टेन प्लस गोदावरी’ रिसोर्ट फेब्रुअरी १४ बाट पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ। अमेरिकी लक्जरी चेन रिसोर्टको रुपमा रहेको वेस्ट वेस्टेन प्लसले व्यवस्थापन गरिएको रिसोर्टमा अत्याधुनिक आवास सुविधा, सम्मेलन तथा कार्यक्रम हल, रेस्टुरेन्ट र मनोरञ्जन संरचना समेटिएको छ।

रिसोर्टका सञ्चालक राजेन्द्र भण्डारीले अगष्टमा सफ्ट ओपनिङ गरेर सञ्चालनमा ल्याइरहेको बताउँदै आगामी फेब्रुअरी १४ अर्थात् फागुन २ गते भव्य उद्घाटन गर्ने तयारी थालिएको जानकारी दिए। गोदावरी क्षेत्रमा पहिलो अन्तर्राष्ट्रिय ब्रान्डअन्तर्गत सञ्चालन गरिएको रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुनुका साथै रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्र चलायमान हुने र होटल क्षेत्रमा थप लगानी भित्र्याउन सकारात्मक सन्देश जाने अपेक्षा गरिएको उनले बताए।

अन्तर्राष्ट्रिय चेन होटलको आफ्नै मापदण्ड रहेकोले सञ्चालनमा आएको तीन महिनासम्म विभिन्न चरणको परिक्षणहरु हुने  उनले बताए। रिसोर्टले ग्राहकलाई राख्ने काम सुरु गरिसकेको बताउँदै फुलफेजमा सञ्चालन भने फागुन २ बाट मात्र हुने उनको भनाइ छ।

निर्माण सुरु भएको करिब ६ वर्षपछि सञ्चालनमा आएको रिसोर्ट १ अर्ब ९५ करोड लागतमा निर्माण भएको सञ्चालक युवराज श्रेष्ठले बताए। सुरुमा गोदावरी फरेस्ट रिसोर्टको नाममा निर्माण गरिएको भए पनि रिसोर्टको व्यवस्थापन भने अमेरिकन चेन ब्रान्ड वेस्ट वेस्टेन प्लसलाई दिएको हो। पछिल्लो समय वेस्ट वेस्टेन प्लसले नेपालका धेरै होटल तथा रिसोर्टको व्यवस्थापन सम्हाल्दै आएको छ। निर्माण सुरु भएको करिब ६ वर्षपछि सञ्चालनमा आएको रिसोर्ट १ अर्ब ९५ करोड लागतमा निर्माण भएको सञ्चालक युवराज श्रेष्ठले बताए।

रिसोर्टमा ८३ वटा सुविधा सम्पन्न कोठा छन्। ३ वटा सुविधा सम्पन्न मिटिङ हल, एउटा इन्फिनिटिभ स्वीमिङ पुल, २ वटा रेस्टुरेन्ट, एउटा वटा बोर्ड रुम रहेको रिसोर्टमा ३०० बढी क्षमताको बैंक्विट हल समेत छ। गोदावरी वरपरका क्षेत्रमा हाइकिङ, ट्रेकिङका साथै धार्मिक पर्यटन पनि बढ्न थालेकाले आन्तरिक र भारतीय एवम् चिनियाँ पर्यटकलाई लक्षित गरिएको उनले बताए।

गोदावरी राजधानी नजिकको उत्कृष्ट गन्तव्यको रुपमा परिचित छ। त्यहाँको मौलिकतालाई झल्को दिने गरी रिसोर्ट निर्माण गरिएको सञ्चालक श्रेष्ठको भनाइ छ। ५८ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको रिसोर्ट पूर्णरुपमा पारिवारिक हुनेछ। सातदोबाटोबाट रिसोर्टसम्मको दूरी ९ किलोमिटर रहेको छ।

गोदावरीको मुख्य विशेषता भनेको गोदावरी फूल हो। फूल हेर्नैका लागि बर्सेनि धेरै पर्यटक त्यहाँ पुग्ने गरेका छन्। यस्तै, पदयात्राका लागि पनि त्यस क्षेत्रबाट विभिन्न ठाउँमा जान सकिन्छ। रिसोर्टमा विजय मल्ल, कुशन्द्र महत, कल्याण जोशी, राजेन्द्र भण्डारी, युवराज श्रेष्ठ, मदनलाल जोशीलगायतको संयुक्त लगानी रहेको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij