काठमाडौँ : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचनको लागि शान्ति सुरक्षाको सुनिश्चितता गरिसकेको भन्दै निर्वाचनबारे शंका–उपशंका गर्नुपर्ने अवस्था नरहेको बताएका छन्।
प्रधानमन्त्रीले आह्वानमा गरेको सर्वपक्षीय छलफलमा बोल्दै उनले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित ढंगले सम्पन्न गर्ने दायित्व राजनीतिक दलहरुको समेत भएको बताए।उनले निर्वाचन प्रयोजनका लागि विभिन्न प्रविधिको प्रयोगको नाममा समयमा निर्वाचन गर्न टालटुल गर्ने र उक्त कमजोरी निर्वाचन आयोगको टाउकोमा बोकाउने चेष्टा नगर्नसमेत राजनीतिक दलहरुलाई चेतावनी दिए।
उनले निर्वाचन आयोगको पद्धतिअनुसार राजनीतिक दल, सरकारका प्रतिनिधि, नागरिक समाजका अगुवालगायत सरोकारवाला पक्षसँग छलफल गरी विधि, पद्धति र प्रविधिका आधारमा सामूहिक निर्णय गरेर निर्वाचन सम्पन्न गरिनुपर्नेमा जोड दिए।
उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा सर्वोच्च अदालतले गरेको फैसलाअनुसार सरोकारावाला कुनै पनि निकायले आफ्नो कानूनी जिम्मेवारी पूरा नगरेको आरोपसमेत लगाए।
उनले निर्वाचन आयोग आफैँले ऐन बनाउन नसक्ने स्मरण गराउँदै स्वायत्त निकाय भएको आधारमा ऐनसँग सम्बन्धित नियमहरु बनाउँदै आएकोसमेत अवगत गराए।
उनले निर्वाचनसम्बन्धी १० वटा कानूनमध्ये तीन वटा संशोधन गर्नुपर्ने र सात वटा खारेज गरी एकीकृत कानून बनाउनुपर्ने आवश्यकता औंल्याउँदै निर्वाचन व्यवस्थापनसम्बन्धी ऐनको प्रस्ताव दुई वर्षअघि नै सरकारमा पठाइसकिएको जानकारी दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij