पश्चिम नवलपरासी : भिक्षुणीको समूह काेही नदी तर्न डुंगा चढ्ने तयारी थिए, कसैले डुंगा चढेर नदी पार थिए । तराईको कठयाङ्ग्रिदो चिसोमा उनीहरु घुम्न र सयर गर्न भने डुंगा चढेका हैनन् । करिब २ हजार ६ सय १६ वर्षअघि शाक्यवंशीय महारानी महाप्रजापति गौतमीले गरेको यात्राको पाइला पछ्याउँदै उनीहरु अनोमाघाट (नारायणी नदी) तर्दै गरेको दृष्य हो यो ।
शाक्यवंशीय महारानी प्रजापति गौतमी भिक्षुणी बन्न अनेकन दुःखकष्ट झेल्दै राजप्रासाद तिलौराकोट कपिलवस्तुबाट भारतको बैशाली पुगेको प्राचीन पदमार्ग पछ्याउँदै एक सय जना भिक्षुणीहरु हिँडेका छन् ।
‘महाप्रजापति गौतमी ग्रेट रिनाउन्सेसन ट्रेल’ नाम दिएर १३ देशका भिक्षुणीहरु हिँडेका हुन् । उनीहरु धुलाम्ये बाटो, खेतखलो र नदीखोला तर्दै यात्रा गरिरहेका छन् । तीन दिन नेपाली भूभागको यात्रा सकेर उनीहरु भारतमा यात्रारत छन् । नयाँ पर्यटन ‘प्रडक्ट’को रुपमा विकास गरी आध्यात्मिक पर्यटकलाई आकर्षित गर्न नेपाल र भारतका पर्यटन उद्यमीले यो पहल थालेका हुन् ।
गत बुधबार शाक्यवंशीय राजधानी तथा राजकुमार सिद्धार्थले २९ वर्षको युवावस्था विताएको ठाउँ तिलौराकोटमा पूजाआजा गरी यात्रा सुरु गरिएको थियो । तिलौराकोटमै २४ जना महिला १० दिनका लागि प्रबज्जया (भिक्षुणी) बनेर यात्रामा सहभागी भए । बिहीबार बिहान ६ बजे कुहिरोकै बीचमा तिलौराकोटस्थित पूर्वीद्वारबाट यात्रा थालिएको थियो । तिलौराकोट, निग्रोधाराम हुँदै लुम्बिनी, रामग्राम र अनोमाघाट (सुस्ता) पुगेको भारतीय अध्येता तथा ‘महाप्रजापति गौतमी ग्रेट रिनाउन्सेसन ट्रेल’ कार्यक्रमका कोअर्डिनेटर दिपक आनन्दले बताए । अनोमाघाटमा भिक्षुणीले नदी तरेका थिए । त्यसपछि टोली सुनौली फर्किएर शनिबार भारत प्रवेश गरेको थियो ।
भारतमा बाल्मिकीनगर, नन्दनगढ, लौरिया अरेराज, केसरिया हुँदै यात्रा बैशाली पुगेर बुधबार सकिनेछ । ३ सय किलोमिटरको यात्रा एक साता लगाएर पुस ९ गते सकिनेछ । यात्रामा नेपाल, भारत, थाईल्याण्ड, अमेरिका, क्यानाडा, भियतनाम, कम्बोडिया, श्रीलंका, सिंगापुर र अष्ट्रेलिया लगायतका १३ मुलुकका भिक्षुणी सहभागी छन् ।
भिक्षुणीहरु दैनिक ५/७ किलोमिटर पैदल र त्यसपछि बसमा हिँडेर यात्रा फूरा गर्ने कार्यक्रमका कोअर्डिनेटर आनन्दले बताए । कार्यत्रममा नेपाल र भारतका ६५ र अन्य मुलुकका ३५ जना भिक्षुणी सहभागी छन् । ‘महारानी प्रजापति गौतमी भिक्षुणी बन्न कति दुःखकष्ट गर्नु भएको रहेछ भन्ने अनुभूति गराउन कार्यक्रम गरिएको हो,’ कोअर्डिनेटर आनन्दले भने, ‘अहिले त सवारीसाधन छन् । त्यतिखेर पैदलबाहेक विकल्प थिएन । कसरी हिँडेर पुगे होलान् भन्ने अनुभूति गराउनु थियो ।’
हिँड्दा भएको दुःखकष्टसँगै शान्तिको अनुभूतिले जीवनमा नयाँ ऊर्जा थपिएको कम्बोडियन भिक्षुणी धम्म अनुसार्यले बताइन् । ‘यात्राका बारेमा सुनेर सहभागी हुन कम्बोडियाबाट आए,’ उनले भनिन्, ‘महारानी प्रजापतिको चरण परेको ठाउँलाई स्पर्श गर्दै यात्रा गर्दा गज्जबको पुण्य संचय गरे । जुन जीवनका लागि सधैं अविस्मरणीय रह्यो ।’
यो ट्रेलका बारेमा ८ वर्षदेखि अध्ययन गरिरहेका भारतीय अध्येता दिपक आनन्दले बताए । ‘नेपाल र भारतका कतिपय ठाउँमा पैदलै घुमे । धेरै तथ्य पत्ता लगाए,’ उनले भने, ‘यो ट्रेलका बारेमा भन्दा धेरैले प्रशंसा गरे । नयाँ केही गरेको हैन, दुई देशको सम्पदा जोड्ने काम गरेको हुँ ।’ अहिले नेपाल– भारत दुबै देशको संयुक्त जीवन्त हेरिटेज बनेको देख्दा खुसी लागेको उनले बताए । यो यात्रा सम्पन्न गर्न अमेरिकाकी प्रतिष्ठित भिक्षुणी तथालोका महाथेरीको सहयोगले पनि उत्तिकै बल पुगेको उनले बताए ।
लाईट अफ बुद्धधर्म फाउण्डेसन ईन्टरनेसनल भारतको संयोजनमा युनाईटेड थेराबाद भिक्षुणी संघ ईन्टरनेसनल, नव नालन्दा महाविहार, डिम्ड युनिभरसीटी नालान्दा र नेपालको बुद्ध सर्किट्स डट कमले कार्यक्रम आयोजना गरेको हो । धेरैले बिर्सिएको बुद्धकी माताको चरण पछ्याउन पाउँदा भाग्यमानी भएको अष्ट्रेलियाबाट आएकी भिक्षुर्णी शान्ताचारीले बताइन् । ‘उनको यो महान र बलिदानीपूर्ण कामका लागि महारानी प्रजापतिको जति प्रशंसा गरे पनि कम हुन्छ । त्यसैले बुद्धलाई जन्मदिने माटोका नेपाली सधैं खुसी र आनन्दमा बस्छन्,’ उनले भनिन्, ‘महिला मुक्तिका लागि प्रजापतिले करिब ५ सय माइल खाली खुट्टा हिँडेर अनेक दुखकष्ट सहँदै पाइतलामा फोरा पारेर भिक्षुणी भइन् । जसका कारण आफु अहिले भिक्षुणी हुन पाए ।’
महाराजा शुद्धोदनको मृत्युपछि बिरत्तिएर महारानी प्रजापति भिक्षुणी बन्न खोजेकी थिइन् । गौतमबुद्ध ज्ञान प्राप्त गरेर दुई पटक कपिलवस्तु आउँदा उनले भिक्षुणी बनाउन आग्रह गरेकी थिइन् । तर, बुद्धले ईन्कार गरे । बुद्धले बुद्धत्व प्राप्त गरेको ६/७ वर्षपछि उनी र यशोधरासहित ५ सय शाक्य महिला भिक्षुणी बन्न हिँडेर बैशाली पुगेका थिए । महिलाको दु:ख, पीडा, फाँटेका कपडा र उनीहरुको कमजोर शारिरीक अवस्था देखेर बुद्धका प्रमुख शिष्य आनन्दले बुद्धसँग परामर्श गरे । त्यसपछि बुद्धले भिक्षुणी संघ स्थापना गर्न स्विकृती प्रदान गरे । अनि ५ सय शाक्य महिला भिक्षुणी बनेको बौद्ध साहित्यमा उल्लेख भएको वरिष्ठ पुरातत्वविद् वसन्त बिडारीले बताए । ‘यो प्रेरणामूलक र नौलो अध्यात्मिक पर्यटन प्रडक्ट हो,’ उनले भने, ‘यसबाट विश्वका धेरै आमालाई आकर्षित गर्न सकिन्छ । नयाँ अद्वितीय पर्यटनको गन्तब्य बन्छ ।’
ईसापूर्व छैठौं शताब्दीमा महाप्रजापति गौतमीले गरेको यात्रा यो ऐतिहासिक र सन्देशमूलक थियो । त्यहीँ यात्रा ब्यूताउन आफुले लामो समय अध्ययन, अनुसन्धान गरेर अहिले कार्यक्रम गर्न पाउँदा शान्ति पर्यटनमा नयाँ आयाम थपिएको लुम्बिनी विकास कोषका सद्भवनादूत विक्रम पाडेकाजीले बताए । यो यात्राले दुई देशीय ‘हेरिटेज’ पर्यटनमा कोसेढुंगा थप्ने उनले बताए ।
बैशाली तत्कालीन अवस्थामा भज्जी राज्यको राजधानीका रुपमा रहेको थियो । त्यहाँ बस्ने लिच्छवी जाति बुद्धको अनुयायी र भक्त थिए । लिच्छवीले बुद्धलाई दुई वटा विहार बनाइदिएका थिए । बुद्धले अन्तिमसहित दुई वटा वर्षाबास बैशालीमा बसेका थिए । त्यहीँ भएर बैशाली शान्तिका अनुयायीका लागि श्रद्धा र आस्थाको स्थल मानिन्छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij