काठमाडौँ : काठमाडौँको ऐतिहासिक हनुमानढोका दरबार स्क्वायरमा हिजोआज एकजना वृद्धको अनौठो शैलीले धेरैको ध्यान तान्ने गरेको छ। ८० वर्ष पुगिसकेका कालिकोटका बल बहादुर शाही हातमा 'ताखु' लिएर निकै एकाग्र भएर धागो काटिरहेका भेटिन्छन्।
कर्णाली र सुदूरपश्चिमको पहाडी भेगमा भेडाको ऊनबाट धागो बनाउन प्रयोग गरिने यो परम्परागत घरेलु उपकरण काठमाडौँका नयाँ पुस्ता र विदेशी पर्यटकका लागि भने निकै अनौठो दृश्य बनेको छ।
विशेषगरी काठमाडौँ उपत्यकामा चर्खा चलाएर महिलाहरूले धागो काट्ने चलन रहे पनि कर्णालीतिर भने पुरुषहरू नै यो काममा पोख्त हुन्छन्। बल बहादुर त्यसैको एउटा जीवित उदाहरण हुन्। काठमाडौँमै बसोबास गर्दै आएका उनले आफ्नो थातथलो छोडे पनि पुर्ख्यौली सीप र कर्मलाई भने निरन्तरता दिइरहेका छन्। उनी यसरी काटेको धागोबाट घरमै राडीपाखी र बख्खु बुन्ने गर्छन्, जसले उनको सक्रियता र पुर्ख्यौली संस्कृतिप्रतिको मोहलाई झल्काउँछ।
हनुमानढोका घुम्न आउने आगन्तुकहरू उनलाई ताखु घुमाउँदै गरेको देखेर टक्क रोकिन्छन्। कतिपयले चासो मानेर सोधपुछ गर्छन् त कतिपयले यो दुर्लभ दृश्यलाई क्यामेरामा कैद गर्छन् ।आधुनिक मेसिन र प्रविधिको युगमा पनि बल बहादुरले जोगाइराखेको यो मौलिक सीपले कर्णालीको परम्परालाई राजधानीको मुटुमा जीवन्त राखेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij