पाल्पा : सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिमपूर्ण मानिने सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको काम ६५ प्रतिशत सम्पन्न भएको छ।पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित यस आयोजनाको मुख्य ११ सय २६ मिटर लम्बाइको सुरुङ खन्ने कार्य सकिएको हो। सुरुङमार्गको भौतिक प्रगति उत्साहजनक देखिए पनि वित्तीय प्रगति भने हालसम्म ५६ प्रतिशत रहेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ एवं भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार निर्माणस्थलको स्थलगत अनुगमन गरी कामलाई तीव्रता दिन निर्देशन दिएका छन्। मन्त्री घिसिङले आयोजना र निर्माण व्यवसायीबीच सुल्झिन बाँकी रहेका प्राविधिक तथा प्रशासनिक विषयलाई तत्काल टुङ्ग्याउन आग्रह गरे। निर्माण व्यवसायीले वन कटान र भुक्तानीमा भएको ढिलाइ जस्ता कारण देखाउँदै १९ महिना म्याद थपको माग गरेको सन्दर्भमा उनले निर्णय प्रक्रिया ढिलो गरेर आयोजना प्रभावित पार्न नहुनेमा जोड दिए।
आयोजना अन्तर्गत तीन वटा बाइपास सुरुङको निर्माण पनि सम्पन्न भइसकेको छ भने हाल पहुँच सडक, भीर संरक्षण र रिटेनिङ वालको काम भइरहेको छ। ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ लागतमा चिनियाँ कम्पनीले निर्माण गरिरहेको यो सुरुङमार्ग चैत २०८३ भित्र सक्नुपर्ने सम्झौता छ। मुख्य सुरुङबाट सवारी साधन चल्न थालेपछि मात्र पहिरो रोक्नका लागि ७ सय ८० मिटर लामो 'रक सेड' निर्माणको काम सुरु गरिनेछ।
नेपाल सरकारको आफ्नै स्रोतमा निर्माणाधीन यो सुरुङमार्ग सञ्चालनमा आएपछि सिद्धबाबा क्षेत्रमा बर्सेनि हुने पहिरो र ढुङ्गा खस्ने समस्याबाट यात्रुले मुक्ति पाउनेछन्। यसले सिद्धार्थ राजमार्गको यात्रा सुरक्षित र छिटो बनाउनुका साथै सवारी दुर्घटनामा समेत उल्लेख्य कमी ल्याउने विश्वास गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij