काठमाडौँ : सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौँका नदीहरूमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर जडान गर्न सुरु गरेको छ।
हाल गुह्वेश्वरीमा ट्रास बेरियर जडान सम्पन्न भइसकेको छ भने बागमती नदीका अन्य ५ स्थानहरू—गोकर्ण ब्यारेज, तिलगंगा आँखा अस्पताल, बाग्मती–मनोहरा दोभान, युएन पार्क, र मनोहरा–कर्मनाशा दोभान—मा पनि काम धमाधम भइरहेको छ।

जम्मा ६ स्थानमा रु ६५ लाखको ठेक्का सम्झौता गरेर ट्रास बेरियर राख्ने काम भइरहेको जनाइएको छ। ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर वस्तुहरू रोक्ने र एक निश्चित स्थानमा जम्मा गर्ने कार्य गर्छ।
विशेषज्ञहरूको अनुसार, काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, मनोहरा र धोबीखोलामा शहरीकरण र अव्यवस्थित फोहोर व्यवस्थापनका कारण ठूलो मात्रामा फोहोर बग्ने गरेको पाइएको छ। तर ट्रास बेरियरले नदीको बहावलाई अवरुद्ध नगरी फोहोर मात्र संकलन गर्न सकिने भएकाले नदी प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
संकलित फोहोर नियमित रूपमा निकालेर वर्गीकरण, पुनः प्रयोग तथा सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिन्छ। यसले नदीको सौन्दर्य, जलजीव संरक्षण र सार्वजनिक स्वास्थ्यमा सकारात्मक योगदान पुर्याउने देखिन्छ।
ट्रास बेरियरमा रबरको कन्भेयर बेल्ट र तैरिने भाग रहेको संरचना राखिने भएकाले पानीको सतह घटबढ भए पनि यसको सतह आफैँ तलमाथि हुनेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij