धनकुटा : संखुवासभामा निर्माणधीन अरुण तेस्रो जलविद्युत् आयोजनाले निर्माण सामग्री लैजान धनकुटाको मूलघाटमा अण्डरपास निर्माण भइरहेको छ। अरुण तेस्रो आयोजनाको निर्माणका लागि भारी सामग्री पुलबाट पार गर्न जोखिम भएकाले अण्डरपास निर्माणको काम भइरहेको हो। धनकुटा नगरपालिका-९, मूलघाट स्थित तमोर नदीमा आयोजनाले करिब ६० मिटर लामो अण्डर पास बनाउने काम धमाधम गरीरहेको छ। कोशी राजमार्गमा पर्ने धरान धनकुटा सडक खण्ड अन्तरगत मूलघाटमा तमोर नदीमाथि २ सय मिटर लामो पक्की पुल छ।
२०४० सालमा निर्माण पुलको अधिकतम भारवहन क्षमता ७० टन मात्रै रहेको छ। निर्माणधीन आयोजनाका लागि ट्रान्सफर्मर, टर्बाइन लगायतका भारी उपकरण सहित एउटा ट्रकमा १४० टनसम्मका १ ५० वटा ट्रक आउने भएको आयोजनाका डीजीएम पंकज आनन्दले बताए।
सडक विभागबाट स्वीकृति लिइ र नेपाल सरकारको अनुमति पाएपछि अण्डरपास बनाउन शुरु गरिएको आयोजनाले जनाएको छ। बढी तौल भएका भारवहन सामग्री लोड गरिएका ट्रक पुलबाट तार्दा पुलमा क्षति पुग्ने भएकाले अण्डर पास निर्माण थालिएको हो। हिउँदको समय भएकाले तमोर नदीमा पानीको सहत कम भएकाले पानीको सहत बढ्नुअघि नै भारी सामग्री ओसारिसक्ने तयारी रहेको आयोजनाले जनाएको छ।
आयोजनाका भारवहन सामग्री ओसार्दा पुलमा क्षति पुग्ने भन्द अण्डरपास बनाइएता पनि सडकको भारवहन क्षमता नपुग्ने हुँदा समस्या हुने भएको छ। धरान–धनकुटा सडकको अधिकतम भारवहन क्षमता करिब ४० टन मात्रै रहेको सडक डिभिजन कार्यालय धनकुटाका प्रमुख राजेन्द्रप्रसाद साहले जानकारी दिए। सडक क्षमताका कारणले गर्दा ४० टन भन्दा बढी भारका मालवाहक सवारीसाधन सञ्चालन गर्न नपाईने सडक डिभिजन कार्यालय धनकुटाले जनाएको छ। डीजीएम आनन्दका अनुसार परियोजना निर्माणका लागि राजमार्ग प्रयोग गरी सामग्री ओसारपसार गर्न नेपाल सरकारले स्वीकृति दिइसकेको छ।
राष्ट्रिय गौरवको आयोजना भएकाले सहमति मार्फत माथिबाटै सहजीकरण हुने धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिए। राष्ट्रिय गौरवको आयोजना निर्माणधीन अरुण तेस्रो जलविद्युत आयोजनाले सामाग्री लैजान सहजीकरण गरिरहेको खड्काको भनाइ छ।
लामो सवारीमा समान आउने भएकाले सडकमा क्षति नपुग्ने भए पनि धनकुटाको तमोर नदी र संखुवासभाको सभा खोलामा रहेको पुलमा क्षमता नपुग्ने भएकाले अण्डर पास बनाउन लागिएको उनको भनाइ छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij