Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

पसिनाका गन्धमा सफलता खोज्न तिवारी

पसिनाका गन्धमा सफलता खोज्न तिवारी

मोरङ :  उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका साथ आठ वर्ष अगाडि उनले एउटा कुखुराको फार्म खोलेका थिए । सुरुमा १५० कुखुराबाट सुरु भएको फार्ममा अहिले १५ होलिस्टेन गाई र एक हजार ५०० भन्दा बढी ब्रोइलर कुखुरा छन् ।

विदेशलाई त्यागेर नेपालमै कृषि पेसा अगालेका तिवारीले यो अवस्थासम्म आइपुग्न जीवनका धेरै सपना पसिनासँगै साटेका छन् । आफ्नो पसिनाको गन्धमा सफलता खोज्न तिवारीले सुरुसुरुमा धेरै समस्या भोग्नुपरेको थियो । गोठ र घरको सम्पूर्ण खर्च कटाएर मासिक रु ४०–५० हजार आम्दानी गर्ने तिवारी गाउँमा परिवारका साथ हासीखुसी जीवन बिताइरहेका छन् । कुखुरासँगै गाईपालनमा लागेका किसान युवराज तिवारीले अहिले गाउँमै सफलता हासिल गरेका छन् । गाउँमै केही गर्ने उद्देश्य साथ पशुपालनमा लागेका तिवारीको बिहान–बेलुकाको दैनिकी नै फेरिएको छ ।

बिहानको झिसमिसेमै पाँच किलोमिटर टाढा पथरी बजारमा देखिने तिवारी गाई र बाछाको पहिलो आवाजमै ओछ्यान छोड्नुपर्ने बताउँछन् । बिहान ३ः०० बजे गाईको गोठमा पसेका तिवारी ५ः०० बजे दूधको क्यानसँगै पथरी बजारमा भेटिन्छन् । गोठमा नौवटा दुहुना, दुईवटा ब्याउनेसहित १५ वटा गाई छन् । गोठ नजिकैको फार्ममा एक हजार ५०० बढी ब्रोइलर कुखुरा छन् । गोठमा भएका गाईले दैनिक ७० लिटरभन्दा बढी दूध दिन्छ । तिवारी दूध बिक्रीका लागि बिहान ५ः०० र बेलुका ४ः०० बजे पथरी बजारमा पुग्ने गर्छन्। युवराज तिवारीले आठ वर्षअघि देखेको एउटा सानो सपना पूरा हुदै गएको छ । ब्रोइलरबाट मात्र सोचेजस्तो आम्दानी नभएपछि तिवारीले तीन वर्षअघि रु तीन लाख खर्च गरेर गाईको गोठ बनाए ।

सुरुआती दिनमा न त ठूलो पुँजी थियो न त ठूलो अनुभव तर आत्मविश्वासका साथ ‘केही गरेर देखाउने’ सोच बोक्नुभएका युवराजका यात्रा कहिल्यै थाकेनन् । श्रीमती र दुई छोरीको साथ पाएका उनले गाउँमै सफलता हासिल गर्दै आएका छन् । श्रीमती चन्द्रकला बिहान श्रीमान्सँगै दूध दुहुन, खोले पकाउन, कुटी काट्न गोठमा लाग्छिन् । बिबीएस अध्यानरत दुई छोरी कुखुराको स्याहार र दानापानी तिर लाग्छन् । पढाइसँगै छोरीहरू बाबुआमाको आधुनिक पशुपालनमा खुसी छन् । बाबुआमाको मेहेनतका कारण आज हामीले उच्च शिक्षा हासिर गर्न सकेको बताउँछन् ।

तिवारी बिहानको झिस्मिसेमा गोठमा हुँदा गाउँले निद्रामा हुन्छन् । प्रत्येक दिन हातमा टर्च र काँधमा बाल्टी बोकेर गोठ पुग्ने युवराजलाई क्यानमा भरिएको दूधले नयाँ ऊर्जा दिन्छ । तिवारी मुस्कुराउँदै भन्छन्, “दूध बेच्ने बेला सुत्न पाइन्नँ, बेलुका पनि बजार पुग्नैपर्छ, तर थकित भएका बेला ग्राहकले दिने प्रतिक्रियाले थप काम गर्न ऊर्जा मिल्छ”, कृषिमा सफलता पाउँदै गर्नुभएका तिवारीबाट धेरै किसानलाई ऊर्जा मिलेको छ । पहिलापहिला दुई–तीन सय कुखुरा हुर्काउन गार्हो हुने तिवारीका फार्ममा आज एक हजार ५०० भन्दा बढी चल्ला हुर्किरहेका छन् । पहिलापहिला यसले के गरेको भन्ने गाउँलेहरू आजभोलि उहाँको प्रगतिको तारिफ गर्दै केही सिक्न आउने गरेका छन् ।

सरकारी अनुदानको आशा नराखेका तिवारीलाई यतिबेला भने समस्या थपिँदै गएको छ । समयको बचत र कामको भार कम गर्न भए पनि दूध दुहुने मेसिन आवश्यक परेको बताउछन् । नगर र वडाबाट अनुदान पाए केही सहज हुने आशा तिवारीले राखेका छन् । वस्तु बस्ने म्याट, कुटी काट्ने मेसिन, दानासम्बन्धी ज्ञान, गोठ सफा गर्ने तरिका, आधुनिक गोठ निर्माण र सामान्य पशु उपचारको तालिम पाए सहज हुने तिवारी बताउछन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij