काठमाडौँ : पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले कानून जटिल र जञ्जालयुक्त नभई सामान्य जनताले बुझ्न सक्ने सरल बनाउनुपर्ने बताएका छन्।नेपाल कानून समाजद्वारा काठमाडौँमा आयोजित तीनदिने कानून निर्माणमा स्थानीय तहको प्रभावकारी भूमिका विषयक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कानून निर्माणमा सहजता र सरलता खोज्नुपर्ने बताए।
स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएकाले आमनागरिकले बुझ्नसक्ने कानून बनाउन जरुरी रहेको बताए। उनले कानून बनाउने र टेबुलमा थन्क्याउने कानूनको उद्देश्य नभएको बताए। जतिसुकै वर्ष लगाएर बनाए पनि कानून दोषरहित हुन नसक्ने र संशोधनको प्रक्रिया निरन्तर भइरहने उनको भनाइ छ।
श्रेष्ठले भने, ‘जटिल र जञ्जालयुक्त कानून बनाउने होइन‚ स्थानीय जनताले बुझ्नसक्ने सरल कानून बनाउनुपर्छ। बनेका नीति, निर्देशिका, कार्यविधि, ऐनहरू कति कार्यान्वयन भए? जनतालाई कति सुनाइयो ?जनताले भन्ने मौका पाए‚ पाएनन्‚ सरलीकृत रूपमा जनतालाई बुझाउने प्रयास भयो कि भएन? सरलीकृत नभए संशोधन गरेर सरलीकृत गर्नुपर्छ।’
उनले उठेका प्रश्नको संशोधन र समाधान गर्दै जानुपर्ने उल्लेख गरे। तीनदिने अभिमुखीकरण कार्यक्रममा स्थानीय सरकारका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij