Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

बाँदरकाे आतङ्कपछि तनहुँका किसान पशुपालनतर्फ आकर्षित

बाँदरकाे आतङ्कपछि तनहुँका किसान पशुपालनतर्फ आकर्षित

तनहुँ : कृषकले दुःख गरेर लगाएको अन्नबाली भित्र्याउन नपाउँदै बाँदरले नष्ट गरिदिएपछि हैरानी खेपिरहेका तनहुँका किसान अहिले पशुपालनतर्फ आकर्षित हुन थालेका छन्। बाँदर आतङ्ले गर्दा खेतीयोग्य जमिन बाँझो राख्ने क्रम बढेपछि भेटेरिनरी तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले ‘बाँझो जमिनमा घाँस खेती प्रवर्धन कार्यक्रम’ सुरु गरेको छ।

बाँदरले घाँसलाई क्षति नगर्ने र पशुपालनबाट राम्रो आम्दानी हुने भएपछि यो कार्यक्रम ल्याइएको हो। केन्द्रका प्रमुख रविनसन अधिकारीका अनुसार किसानलाई घाँसका बिरुवा निःशुल्क वितरण गर्नुका साथै प्राविधिक ज्ञानसमेत प्रदान गर्न थालिएको छ।

अधिकारीले भन्नु भयो, “दाना चोकरको मूल्य आकाशिएका बेला घाँसको माध्यमबाट आहारा खुवाउँदा लागत घट्छ र बाँदरको समस्याबाट छुटकारा पाउन सकिन्छ।’’

केन्द्रले यस वर्ष १० हजारभन्दा बढी बेर्ना उत्पादन गरी वितरण गर्ने लक्ष्य राखेको छ। विशेषगरी नेपिएर, सुपर नेपिएर, रेड नेपिएर, बडहर, राइखनियो, काफल र टाँकी जस्ता पोषिलो डाले घाँसको माग बढी देखिएको छ। घाँसको सेवनले पशुको उत्पादकत्व बढ्नुका साथै दुध पनि बढी पोषिलो हुने भएकोले किसानलाई प्रोत्साहन गर्न निःशुल्क बिरुवा दिने गरिएको केन्द्रले जनाएको छ।

खेतीमा लगानी अनुसारको प्रतिफल नहुने र बाँदरले बाली सखाप पार्ने भएपछि धेरै युवाहरू कृषि छाडेर वैदेशिक रोजगारीमा पलायन भइरहेका छन्। यो कार्यक्रमले बाँझो जमिनको सदुपयोग गर्दै गाउँमै रोजगारी सिर्जना गर्ने विश्वास लिइएको छ।

हाल बजारमा परालको मूल्य प्रतिकिलो करिब १५ रुपियाँसम्म पर्ने गरेकोमा, आफ्नै जमिनमा उत्पादित घाँसले किसानको ठुलो खर्च जोगाउने छ। घाँस खेती गर्न इच्छुक कृषक वा फार्मले केन्द्रमा निवेदन दिएर यो सुविधा लिन सक्ने छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट