काठमाडौँ : नागढुंगा–नौबिसे मलेखु सडक खण्ड आजबाट केही दिन खुला रहने भएको छ । नागढुंगा-पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको र धादिङको गल्छी–गजुरी खण्डमा पर्ने अप्ठ्यारो पहाड कटिङको काम भने बाँकी रहेको नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए ।
‘भिर कटिङको काम सकिएको छैन, लगातार सडक बन्द गर्दा यात्रु र चालकलाई सास्ती हुने भएकाले एक/दुई दिन खुला गर्न लागिएको हो,’ उनले भने, ‘त्यसपछी फेरि केही दिन गल्छी–गजुरी खण्ड बन्द गरेर पहाड कटिङको काम गर्छौं ।’ मंसिर २४ देखि पुस १ गतेसम्म दैनिक ५ घण्टा सडक बन्द गरेर सडक सुधारको काम गरिएको थियो ।
सडक बन्द गर्दा एमाले महाधिवेशनलाई असर परेको गुनासो आएपछि २६ र २७ गते खोल्ने निर्णय गरिएको थियो । एमाले निकट युवा संघको टोलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई भेटेर केही सडक बन्द नगरिदिन आग्रह गरेका थिए । त्यसपछि दुई दिन दिउँसो कालोपत्रको काम रोकेर सडक खोलिएको थियो ।
उक्त सडकको काठमाडौं जिल्ला भित्र पर्ने नागढुंगा–पिप्लामोड खण्डको कालोपत्र गर्ने कार्यलाई सडक विभागले उच्च प्राथमिकतामा राखेर दोस्रो तहको कालोपत्रको काम गरेको हो । अहिले धादिङको गल्छी–गजुरी खण्डको साँघुरो र जोखिमपूर्ण रहेको पोखरेभिर क्षेत्रमा सडक चौडा गर्नुपर्ने भन्दै नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभीर क्षेत्रमा मसिर २४ देखि पुस १ गतेसम्म बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म सडकमा यातायात आवागमन बन्द हुँदै आएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij