सिन्धुली : सिन्धुलीकी दीपा देवकोटाले हालै नेपालमा शारीरिक अपाङ्गता भएर पनि बन्जी जम्प गरेर नयाँ इतिहास रचेकी छन्। ‘स्पाइनल बाइफिडा’ नामक शारीरिक अपाङ्गता भएकी उनले आफ्नो जन्मदिनको अवसर पारेर यो साहसिक कार्य गरेकी हुन्।
देवकोटाको यो साहस र आत्मविश्वासले ‘अपाङ्गता बाधा होइन, केवल अवस्था हो’ भन्ने बलियो सन्देश समाजमा दिएको छ। उनी एक सक्रिय अपाङ्गता अधिकारकर्मी समेत हुन्। समाजमा व्याप्त नकारात्मक सोचलाई चुनौती दिँदै उनले अपाङ्गता भएका व्यक्तिहरू पनि साहसिक खेलकुद र पर्यटनमा सक्षम छन् भन्ने प्रमाणित गरेकी छन्।
अपाङ्गताको कुनै पनि अवस्थाले मानिसको जीवनमा बाधा ल्याउँदैन भन्ने देखाउँदै उनले सफलतापूर्वक बन्जी जम्प पूरा गरिन्।
यस साहसिक कार्यबारे बोल्दै देवकोटाले भनिन्, ‘अपाङ्गता कमजोरी होइन, आत्मबल र अवसर पाएमा हामी पनि सबै क्षेत्रमा अघि बढ्न सक्छौँ। मेरो यो प्रयासले अन्य अपाङ्गता भएका दिदीबहिनी तथा दाजुभाइहरूलाई आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिने विश्वास लिएको छु।’
उनले आफ्नो जन्मदिनको विशेष दिन यो साहसी कार्य गरेको बताइन्। उनले भनिन्, ‘मेरो जन्मदिने आमा बुबालाई यो समाजले अपाङ्गता सन्तान जन्माएको भन्दै सामाजिक र मानसिक रूपमा विभेद गरिरहँदा म चाहिँ मेरो आमा बुबालाई धन्यवाद दिन चाहन्छु, किनकि एउटी सक्षम र साहसी छोरी जन्माइदिनुभएकोमा। अपाङ्गताले मेरो जीवनको कुनै पनि अध्यायलाई रोक्ने छैन। त्यसैले मेरा अभिभावक र मेरो जन्मदिन मेरा लागि खास छ।’
देवकोटाले अपाङ्गता भएका व्यक्तिहरू पनि समाज, समुदाय र राष्ट्रका हरेक गतिविधिमा समान रूपमा सहभागी हुन सक्षम छन् भन्ने सन्देश यो कार्यमार्फत प्रवाह गरेकी छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij