Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली : ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक्त समाजको अपेक्षा गरेको बताएका छन्।कैलालीको जानकी गाउँपालिकाले आज आयोजना गरेको विकास निर्माणसम्बन्धी सरोकारवालासँग भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री घिसिङले जनताले तत्काल कामको नतिजा खोजेको बताए।

“हामी अहिले जनताको माझमा जाँदै गर्दा धेरै ठूलो अपेक्षा भेटाएका छैनौँ”, उनले भने, “जनताको अपेक्षा चुस्तदुरुस्त सेवा प्रवाह, आर्थिक पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार मुक्त समाज छ।”मन्त्री घिसिङले जनताका मूलभूत विषयमा वर्तमान सरकार गम्भीर भएर लागेको उल्लेख गर्दै विकास निर्माणका काममा पनि योजनाबद्ध रुपमा काम भइरहेको बताए। हरेक क्षेत्रका योजना कार्यान्वयनमा जटिलता रहेकाले त्यसलाई सहज बनाउँदै जनताले अनुभूति हुने गरी काम हुनुपर्नेमा उहाँले जोड दिए।

“अहिले जनताको अपेक्षा द्रुत विकास होस् भन्ने हो। त्यो अपेक्षाअनुसार छोटो समयमा काम गर्न चुनौती छ”, मन्त्री घिसिङ भने, “बत्तीको उज्यालोले मात्रै देश समृद्ध बन्न सक्दैन। देश समृद्ध बन्न सबै क्षेत्र उज्यालो हुन आवश्यक छ।”

सरकारले घोषणा गरेकै मितिमा निर्वाचन हुने मन्त्री घिसिङले बताए। “निर्वाचन हुँदैन कि भन्ने शङ्का कसैले नगरे हुन्छ। निर्वाचन निर्धारित समयमा नै हुन्छ”, उनले भने, “बरु निर्वाचन पछिको सरकार कस्तो बनाउने भन्ने जिम्मेवारी जनताको हातमा छ।”

हिजोको जस्तो परिस्थिति अबका दिनमा जनताले नचाहेको बताउँदै मन्त्री घिसिङले निर्वाचनमा सक्षम उम्मेदवारलाई चुन्न आग्रह गरे। रानीजमरा कुलरिया सिँचाइ आयोजनाबाट उत्पादन भएको विद्युत्को स्वामित्व स्थानीय किसान पाउने उनले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij