Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

उखु खेतमा आगलागी, ३ करोडभन्दा बढीको क्षति

उखु खेतमा आगलागी, ३ करोडभन्दा बढीको क्षति

सर्लाही :  सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट ठूलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ।सोमबार दिउँसो विद्युतको तार सर्ट भएर परालको टालबाट सल्किएको आगो उखु खेतमा पुग्दा आगलागी भएको हो। परालको टालबाट सल्किएको आगो मुना चौधरीको उखु खेतीमा पुगेको थियो। चौधरीको खेतबाट सुरु भएको आगलागीले दर्जनौं किसानको उखु बाली सखाप भएको हो। काटेर चिनी मिललाई बिक्री गर्ने बेला भएको उखु जलेपछि किसानमा रुवावासी चलेको छ।

करिब ४०–५० बिघाको उखु जलेर खरानी भएको गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र कुमार यादवले जानकारी दिए। काठमाडौंमा रहेका नगरप्रमुख यादवले आफूलाई प्राप्त जानकारी अनुसार ४०र५० बिघाकै उखु जलेको बताएका छन्। करिब दुई हजार जति गाउँले, समाजसेवी सरोज यादवले प्रदान गरेको एउटा दमकल, प्रहरी र सशस्त्र प्रहरी भएर करिब ५ घण्टा लगाएर आगलागी नियन्त्रणमा लिएका छन्।

नगरप्रमुख यादवले आगलागीबाट करिब ३ करोडको उखु जलेको बताए। काट्ने बेला भएको उखुमा चिनीको मात्रा धेरै हुने भएकाले ठूलो आगो फैलिएको मेयर यादवको भनाइ छ।  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राईले आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट