Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा :  मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य ललिता दास ‘विद्रोही’ले आफू चढेको स्कुटीलाई एम्बुलेन्सले नियतवश ठक्कर दिएर घाइते बनाएको आरोप लगाएकी छन् ।यही मंसिर २२ गते एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएकीले दासले साेमबार सञ्चारकर्मीसँग कुरा गर्दै ठक्कर दिएर आफूलाई अपहरणको शैलीमा जनकपुर पुर्‍याइएको आरोप लगाएकी हुन् ।

घटनामा उनको अनुहार, देब्रे आँखा र खुट्टामा चोटपटक लागेको छ । दासले भनिन्, “सायद ज्यानै लिने उद्देश्यले ठक्कर दिइयो । घाइते भएपछि नजिकै रहेको लहानमा रहेका अस्पतालमा उपचार गराउनुपर्नेमा झण्डै १०० किलोमिटर टाढा जनकपुर लगियो ।”उनका अनुसार दुर्घटनापछि एम्बुलेन्स चालकसहित चार जनाले स्कुटीको डिक्की फोडेर ‘ह्याण्डब्याग’मा रहेको करिब एक लाख ८५ हजार रुपैयाँ मूल्यको ‘विभो एक्स–२०० प्रो’ मोबाइल, दस आनाका दुई थान सुनका टप, एक थान घडी, नागरिकतालगायतका सामग्री लुटिएको छ ।

दासले सरकार गठनसम्बन्धी विषयमा चार–पाँच दिन जनकपुर बसेर २२ मङ्सिरमा लहान फर्किएको र सोही दिन अपरान्ह करिब चार बजे सप्तरीको सुरुङ–४ कदमाहा चोकतर्फ स्कुटीमा फर्किँदै गर्दा दुर्घटना भएको बताइन् । “जग्गा किनबेचको विषयमा कुरा गर्न गएका थियौँ । फर्किने क्रममा चहका पुल नजिक दुर्घटना भयो” उनले भनिन् ।घटनाबारे साथीले गस्तीमा रहेको इलाका प्रहरी कार्यालय भेडियाको टोलीलाई जानकारी गराएपछि प्रहरीले ट्रयाकिङ गरी आफूलाई जनकपुर पुर्‍याइएको पत्ता लगाएको उनको भनाइ छ ।

“यदि प्रहरीको ट्रयाकिङ नभएको भए बाटोमै ज्यान लिने योजना थियो कि भन्ने शंका छ । यस विषयमा सम्बन्धित निकायमा जानकारी गराइसकेकी छु । प्रहरीलाई घटनाको सत्यतथ्य छानबिनका लागि आग्रह गरेकी छु”, प्रदेशसभा सदस्य दासले भनिन् ।प्रहरीमा दिइएको उजुरीअनुसार प्रदेशसभा सदस्य दाससहित दुई जना सवार प्र २–०३–०२१ प ०२९४ नम्बरको स्कुटीलाई महोत्तरीको बर्दिवास नगरपालिका–१० निवासी करिब ३२ वर्षीय रामजनम राय यादवले चलाएको प्रदेश २–०२–००१ च ०२२७ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको हो ।

दासले २६ मंसिरमा इलाका प्रहरी कार्यालय कडरबोनामा घाउजाँच केस फारमसहित चालक, एम्बुलेन्स धनीलगायतलाई अविलम्ब पक्राउ गरी घटनाको अनुसन्धान, उपचार खर्च, स्कुटी मर्मत खर्च तथा लुटिएको सरसामानको क्षतिपूर्ति दिलाउन माग गर्दै उजुरी दर्ता गराएकी छन् ।उनका अनुसार स्कुटीलाई ठक्कर दिएपछि राति करिब ९ बजे जनकपुरधामको रामानन्द चोकस्थित जानकी हेल्थकेयर प्रालि एण्ड टिचिङ् हस्पिटलमा भर्ना गरिएको थियो, जुन कुरा भोलिपल्ट बिहान होस खुलेपछि मात्र उनलाई थाहा भयो ।

एम्बुलेन्सको स्वामित्व रहेको अस्पताल पक्षले स्कुटी आफैँ आएर ठोक्किएको दाबी गरिरहेको प्रहरीको भनाइ छ । कडरबोना प्रहरी प्रमुख प्रहरी निरीक्षक जितेन्द्र रायले भने “दुवै पक्षका आ–आफ्नै दाबी छन् । सबै पक्षलाई एकै ठाउँमा राखेर बुझिसकेपछि मात्र यथार्थ खुल्नेछ ।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट