Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

हुम्लामा दैनिक एघार घण्टा लोडसेडिङ

हुम्लामा दैनिक एघार घण्टा लोडसेडिङ

हुम्ला :  सिमकोट र खार्पुनाथ गाउँपालिकाका सेवाग्राहीले दैनिक एघार घण्टा लोडसेडिङ खेप्दै आएका छन्। हिल्दुम विद्युत् वितरण केन्द्रले उत्पादन गर्ने विद्युत् दैनिक घट्दै जाँदा स्थानीयले लोडसेडिङको समस्या भोग्नुपरेको हो।

हिउँद लागेसँगै केन्द्रको विद्युत् उत्पादन गर्ने पावर हाउसका लागि मुहानमा पानीको श्रोत घट्दा लोडसेडिङ समय बढाउनुपरेको केन्द्रका प्रमुख जितेन्द्र शाहले जानकारी दिए।यस वर्ष हालसम्म हिमपात नहुँदा पानीको श्रोत दैनिक घटिरहेकाले लोडसेडिङ समय पनि दैनिक वृद्धि गर्नुपर्ने बाध्यतामा केन्द्र छ। सिमकोट बजार क्षेत्रमा दैनिक एघार घण्टाभन्दा बढी समय लोडसेडिङ गर्न बाध्य हुनुपरेको उनले बताए। गत वर्ष यो बेला १७ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो।

हाल केन्द्रले डेढ सयदेखि दुई सय किलोवाट विद्युत् आपूर्ति गर्ने गरेको भन्दै प्रमुख शाहले सिमकोट बजारमा मात्र सात सय किलोवाट विद्युत् माग रहेको बताए।चिसो बढेका कारण विद्युत्को माग पनि अत्यधिक बढेको छ। केन्द्रले दुई हजार सात सयभन्दा बढी ग्राहकलाई विद्युत् आपूर्ति गर्दै आएको छ।केन्द्रले दुई तीन घण्टा लोडसेडिङ बर्खा याममा गर्ने गरेर र हिउँदमा जहिल्यै पनि तालिका बढाउने गरेको सिमकोट बजारका जनक कामीले गुनासो गरे।

यसले गर्दा विद्युत्बाट गरिने कार्यसमेत प्रभावित भएको भन्दै उनले सेवाग्राही मर्कामा परेको बताए।केन्द्रले पाँच सय किलोवाट विद्युत् उत्पादन गर्ने गरी १६ वर्षअगाडि हिल्दुम जलविद्युत् आयोजना निर्माण गरे पनि हालसम्म सो आयोजनाबाट तीन सयभन्दा बढी विद्युत् उत्पादन कहिल्यै गर्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट