एजेन्सी : युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन्।
वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य अमेरिका, युरोपेली देशहरू र अन्य सहयोगीहरूबाट कानुनी रूपमा बाध्यकारी सुरक्षा ग्यारेन्टीहरू स्वीकार गर्न सक्ने उनले बताएका छन्।
पछिल्लो समयमा युक्रेन र अमेरिका बिचको द्विपक्षीय सुरक्षा ग्यारेन्टी, र युरोपेली सहकर्मीहरू, साथै अन्य देशहरू–क्यानडा, जापानबाट सुरक्षा ग्यारेन्टीहरू अर्को रूसी आक्रमण रोक्ने अवसर भएको बताउँदै जेलेन्स्कीले त्यस्ता आश्वासनहरू कानुनी रूपमा बाध्यकारी हुनु पर्ने बताएका छन्।
राष्ट्रपति जेलेन्स्कीले आफू “मर्यादापूर्ण“ शान्ति र रूसको अर्को आक्रमण नगर्ने दृढ ग्यारेन्टी खोजिरहेको बताउँदै मस्कोले युक्रेनी सहरहरू र महत्वपूर्ण पूर्वाधारहरूमा निरन्तर आक्रमण गरी द्वन्द्व लामो बनाएको बताए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बढ्दो दबाबका कारण कूटनीतिक प्रयासहरू तीव्र भएपछि यो टिप्पणी आएको हो। ट्रम्पका दूत स्टिभ विटकोफ र जारेड कुसनर युक्रेनी र युरोपेली प्रतिनिधिहरूसँगको वार्ताका लागि आइतबार बर्लिन पुगेका थिए।
अल जजिराका अनुसार यस अघि किएभ र मस्को दुवैसँग वार्तामा संलग्न रहेका विटकोफलाई पठाउने निर्णयलाई वासिङ्टनले प्रगतिमुलक हुने विश्वास गरेको जनाइएको छ।
युक्रेनले अमेरिका र युरोपेली साझेदारहरूसँग मिलेर २०–बुदे योजनाको समीक्षा गरिरहेको उल्लेख गर्दै जेलेन्स्कीले यसले युद्धविराम हुन सक्ने बताए।
अधिकारीहरूले जारी कूटनीतिक छलफलका बाबजुद रूसले आक्रमण नरोकि जानाजानी जाडो महिनामा नागरिकहरूलाई तातो र पानीबाट वञ्चित गर्न पावर ग्रिडलाई लक्षित गरि हजारौँलाई बिजुली विहीन बनाएको बताएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij