Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथलाई साधारण तारेखमा छाड्न आदेश

बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथलाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौं : कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथलाई विशेष अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरु हेमन्त रावल र विदुर कोइरालाको इजलासले नाथले आफ्नै नाममा दर्ता रहेको कञ्चनपुर, साविक बेलडाँडी–८ को कित्ता नं ३५७ (४०० वर्गमिटर) को जग्गा धितो राखी लिएको ऋण चुक्ता भई उक्त जग्गा फुकुवा समेत भएको भन्ने आरोपपत्रबाटै खुल्न आएको अवस्था देखिएकाले साधारण तारखेमा छाड्न आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्तित्वमै नभएको तीनतले पक्की घरको नक्सा बनाएर बैंकबाट ३३ लाखभन्दा बढी ऋण लिएको भन्दै उपाध्यक्ष नाथसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको थियो । भवन नभएको ठाउँको नक्सा पास गराई लक्ष्मी सनराइज बैंकको कञ्चनपुर शाखाबाट २०७८ चैत १० गते २३ लाख ७५ हजार र २०७९ असोज १३ गते १० लाख गरी कुल ३३ लाख ७५ हजार रुपैयाँ ऋण लिएको छानबिनबाट पुष्टि भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार नक्सा पास गर्ने क्रममा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सब–इन्जिनियर जय कुँवर र असिस्टेन्ट सब–इन्जिनियर तेजबहादुर सुनारले मिलोमतो गरी ‘भवन नभएको जग्गामा पक्की घर छ’ भनी झुट्टा अभिलेखीकरण गरेको अभियोग छ । नक्सामा ग्राउण्ड फ्लोरदेखि दोस्रो तलासम्म सटर, कोठा, ग्यालरी, सिँढी र किचनसहितको तीनतले पक्की भवन उल्लेख गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट