काठमाडौं : नेपालले अन्तर्राष्ट्रिय वन्यजन्तु संरक्षण क्षेत्रमा ऐतिहासिक सम्मान प्राप्त गरेको छ । नेपाल डायनामिक इको टुर्स (NDET) तथा वाइल्डलाइफ भिक्टिम फन्डकी संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डोमा पौडेल TOFT ‘कन्जर्भेसनिस्ट अफ द इयर २०२५’ अवार्डबाट सम्मानित हुनुभएको छ । ट्राभल अपरेटर फर टाइगर्स (TOFT) र स्यांक्चुरी नेचर फाउन्डेसनद्वारा प्रदान गरिने यो प्रतिष्ठित अवार्ड वन्यजन्तु संरक्षण, समुदाय सशक्तीकरण तथा नैतिक पर्यटन प्रवर्द्धनमा उहाँले पुर्याउँदै आएको दीर्घकालीन योगदानको कदरस्वरूप प्रदान गरिएको हो ।
डोमा पौडेल नेपालकी पहिलो प्रमाणित महिला नेचर गाइड हुनुहुन्छ । उहाँ वाइल्डलाइफ भिक्टिम फन्डकी अध्यक्ष तथा सामुदायिक आधारका एन्टी–पोचिङ युनिटहरूको पूर्व अध्यक्षसमेत रहनुभएको छ । यस क्रममा उहाँले राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC) र चितवन राष्ट्रिय निकुञ्ज कार्यालयलगायत निकायसँग नीतिगत तथा कार्यगत समन्वय गर्दै समुदाय, निकुञ्ज प्रशासन र अन्तर्राष्ट्रिय साझेदारबीच सेतुको भूमिका निर्वाह गर्नुभएको छ ।
ठूलो प्रतिस्पर्धा रहने भारतजस्ता देशबीचको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालबाट डोमा पौडेलले यो अवार्ड जित्नु नेपालका संरक्षण प्रयासको प्रभावकारिता र सफलताको प्रमाणका रूपमा हेरिएको छ । उहाँको कार्य अन्तर्राष्ट्रियस्तरमा PBS को पुरस्कारप्राप्त डकुमेन्ट्री शृंखला ‘इन हर नेचर’ मार्फत पनि परिचित भइसकेको छ । यसअघि सन् २०२५ मै WWF नेपाल तथा बब एण्ड याङ जाभियर एकेडेमीद्वारा पनि उहाँ सम्मानित हुनुभएको थियो ।
अवार्ड ग्रहणपछि डोमा पौडेलले भन्नुभयो, “यो सम्मान केवल मेरो मात्र होइन, मसँग जोडिएका स्थानीय समुदाय, अन्तर्राष्ट्रिय साझेदार र वाइल्डलाइफ भिक्टिम फन्डको सम्पूर्ण टिमको हो । यसले मलाई अझ दिगो, वातावरणमैत्री र मानिस तथा वन्यजन्तुप्रति थप जिम्मेवार भएर काम गर्न प्रेरणा दिएको छ ।” डोमा पौडेलको नेतृत्वमा NDET चितवनका पहिलो पूर्णरूपमा पशु–मैत्री पर्यटन कार्यक्रम अपनाउने कम्पनीमध्ये एक बनेको छ । कम्पनीले वर्षौंदेखि हात्ती सफारी वा कुनै पनि हानिकारक वन्यजन्तु गतिविधि सञ्चालन गर्दै आएको छैन । दिगोपनालाई व्यवहारमै लागू गर्दै आएको NDET ले गुगल र ट्रिपएडभाइजरमा उच्च मूल्याङ्कन पाउँदै आएको छ ।
NDET का मुख्य अभ्यासमा पशु–मैत्री पर्यटन, वाइल्डलाइफ भिक्टिम फन्डमार्फत संरक्षण सहयोग, वातावरणमैत्री सामग्रीको प्रयोग र न्यून वातावरणीय प्रभावसहितको यात्रा प्रवर्द्धन समावेश छन् । साथै, कम्पनीले ‘स्लो ट्राभल’ अवधारणाअन्तर्गत होमस्टे मार्फत चितवनको प्रकृति र संस्कृतिलाई नजिकबाट अनुभव गर्ने अवसरसमेत प्रदान गर्दै आएको छ ।
यस अवार्डसँगै नेपालले फेरि एकपटक अन्तर्राष्ट्रियस्तरमा सकारात्मक पहिचान बनाएको छ । चितवन राष्ट्रिय निकुञ्जले ७५० दिनभन्दा बढी समयसम्म चोरी–सिकारीरहित अवधि पूरा गर्नु पनि विश्वमै दुर्लभ उपलब्धिका रूपमा लिइएको छ । NDET ले यो उपलब्धिलाई नेपालका लागि आशा, नेतृत्व र दीर्घकालीन संरक्षण दृष्टिकोणको प्रतीकका रूपमा मनाउन मिडिया तथा आम सर्वसाधारणलाई आह्वान गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij