काठमाडौँ : विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ । मोरङ, चितवन, तनहुँ लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो । मोरङको सुन्दरहरैँचा नगरपालिका–६ गौरीगाउँस्थित सडकमा को.१ त ६४५८ नम्बरको ट्याक्टर आइतबार बिहान दुर्घटना हुँदा सोही ठाउँ बस्ने २६ वर्षीय अतित राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृत्यु हुने राई सहचालक हुन् ।
मोरङकै ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित सडकमा प्रदेश १–०२–०४५ प ३१४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने ५२ वर्षीय सुरेशकुमार सरदारको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको विराट नर्सिङ होम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङकै धनपालथान गाउँपालिका–४ नेपाल टेलिकमस्थित सडकमा को–२३ प ८४०६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री सोही गाउँपालिका–३ सोराभाग बस्ने ५० वर्षीय शिवचरण माझीको मृत्यु भएको छ ।
शनिबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता महोत्तरीको पिपरा गाउँपालिका–६ रतौलीस्थित सडकमा प्र.२–०२–००४ प ९२१९ नम्बर मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार धनुषा मिथिला बिहारी नगरपालिका–३ बस्ने २४ वर्षीय राम केवल मण्डलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै, चितवनको कालिका नगरपालिका–९ सेरवासस्थित सडकमा ना–३४ प ४६१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बेलुका दुर्घटना हुँदा चालक इच्छाकामना गाउँपालिका–७ बस्ने २४ वर्षीय साजन चेपाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
उता, तनहुँको ब्यास नगरपालिका–१२ कमलबारीस्थित ग.१७ प ९९९२ नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना हुँदा चालक भानु नगरपालिका–८ बस्ने २९ वर्षीय शंकर विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय जिपी कोइराला श्वास प्रश्वास उपचार केन्द्र झरौटामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको जिएमसी अस्पताल पोखरामा उपचार भइरहेको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij