पोखरा : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजनीतिक पार्टीले नेपाली जनताको चाहनाअनुसार काम नगर्दा जेनजी विद्रोह भएको बताएका छन्।उज्यालो नेपाल पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई आज पोखरामा सम्बोधन गर्दै मन्त्री घिसिङले जनमुखी शासकीय क्षमता प्रदर्शन गर्न नसक्दा जनतामा असन्तुष्टि उत्पन्न भई विद्रोह शुरु भएको बताए।
सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती, जवाफदेहीताको अभाव, प्रक्रियागत जटिलताले शासन व्यवस्था सुस्त हुँदा जनतामा असन्तुष्टि बढी पछिल्लो क्रममा जेनजी आन्दोलन भएको उनको भनाइ छ।
देशमा आर्थिक समृद्धि हासिल गर्दै सुशासन, सामाजिक न्याय, रोजगारीतर्फ अगाडि बढ्दै आपसी सहकार्य समन्वयमार्फत जनचाहना अनुसार सबैले काम गर्नुपर्नेमा उनले जोड दिए। छिमेकी देश चीन र भारतले द्रुत गतिमा विकास गरिरहँदा नेपाल प्राकृतिक स्रोतसाधनले धनी भएर पनि पछाडि पर्नुको कारण खोज्नुपर्ने मन्त्री घिसिङले उल्लेख गरे।
उनले भने, “राजनीतिक नेतृत्वमा सही व्यक्ति र युवा आउन जरुरी छ।” पोखरालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक रहेकामा उनले जोड दिए। पार्टीकी केन्द्रीय सदस्य रिमा विश्वकर्माले सरकारले भ्रष्टाचाररहित सुशासन, पारदर्शी सेवा, उत्तरदायी नेतृत्व दिन सक्नुपर्नेमा जोड दिइन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij