पाल्पा : शुक्रबार बिहान पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा आज थप एक जनाको मृत्यु भएको हो ।
निस्दीको मित्यालीस्थित अरुणखोलाबाट रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप शुक्रबार बिहान चिउरीबासस्थित उकालोमा यात्रु ओराल्ने क्रममा आफैँ व्याक भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताए ।
उनका अनुसार दुर्घटनामा नवलपुर मध्यविन्दु नगरपालिका–१३ की ३१ वर्षीया बुद्धिमाया विक, निस्दी–४ हुवासकी ३६ वर्षीया हेमकुमारी सारु र निस्दी–४ ठोक्सिङबासकी ४५ वर्षीया ओमकुमारी खाम्चाको घटनास्थलमै मृत्यु भएको थियो । उपचारका क्रममा आज बुद्धिमायाका श्रीमान् ३४ वर्षीय सुन्दर विकको मृत्यु भएपछि मृतकको सङ्ख्या चार पुगेको उनले जानकारी दिए ।
दुर्घटनामा आठ जना घाइते भएका थिए । घाइतेमध्ये चार जनाको मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दुई जनालाई उपचारपछि घर फर्काइएको जनाउँदै प्रहरी उपरीक्षक चौधरीले एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij