चितवन : चितवनसहित छिमेकी जिल्लामा कुखुरामा चिकेन एनेमिया भाइरस (CAV) को संक्रमण तीव्र रूपमा फैलिएको पाइएको छ। राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले साउनदेखि कात्तिकसम्म गरेको अध्ययनमा १८२ नमूनामध्ये ५४ प्रतिशत कुखुरामा भाइरस पुष्टि भएको हो।
प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार चितवन, मकवानपुर र नवलपरासीबाट संकलित नमूनामा उल्लेखनीय रूपमा संक्रमण भेटिएको छ। गत आर्थिक वर्षमै पहिलोपटक संक्रमण देखिएपछि कार्यालयले निरन्तर अध्ययन थालेको थियो।
डा. श्रेष्ठका अनुसार यो भाइरसले कुखुराको प्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ, जसका कारण अन्य रोगले सजिलै आक्रमण गर्ने जोखिम बढ्छ। प्रत्यक्ष रूपमा धेरै लक्षण नदेखिए पनि उत्पादन घट्ने र आर्थिक क्षति आउने भएकाले यसलाई बेवास्ता गर्न नहुने चेतावनी दिएका छन्।
एनेमिया भाइरस लागेका कुखुरामा रक्तअल्पता, तौल नबढ्ने, उत्पादन घट्ने जस्ता लक्षण देखिन्छन्। कुखुरा चारा खाने वा हिँडडुल गर्ने भए पनि प्रभाव दीर्घकालीन हुने भएकाले विशेष सतर्कता आवश्यक छ।
रोग नियन्त्रणका लागि ब्रोइलर र लेयर दुवैको माउ तथा चल्लामा भ्याक्सिन अनिवार्य भएको डा. श्रेष्ठ बताउँछन्।
हाल चितवनसहित १६ जिल्लाबाट आएका नमूना प्रयोगशालामा परीक्षण भइरहेको छ।
यसबाहेक अहिले कुखुरामा H9 इन्फ्लुएन्जा फैलिन सक्ने समय भएकाले किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
फार्ममा आउजाउ गर्ने मानिस, सवारीसाधन तथा दाना, औषधि, पानीजस्ता सामग्री प्रवेश गर्दा जैविक सुरक्षा (biosecurity) कडाइका साथ पालना गर्नुपर्ने विशेषज्ञले सुझाएका छन्। बजारमा सहजै पाइने निःसङ्क्रमण औषधि प्रयोग गरी फार्म पूर्ण सुरक्षित बनाउनु पर्ने उनले सल्लाह दिएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij