लहान : सिरहा–धनुषा जोड्ने कमला नदीको पुल पुनर्निर्माणका लागि औरही नगरपालिकाले एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
गाउँपालिका अध्यक्ष शिवजी यादवले चार वर्षअघि भासिएको पुल पुनर्निर्माणका लागि रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। पुल निर्माणका लागि जनस्तरबाट चन्दा सङ्कलन अभियान पनि सुरु भएको छ। अभियानको नेतृत्व हुलाकी सडक निर्माण अभियन्ता रामरिझन यादवले गरेका छन्। यादवले पुल निर्माणका लागि थप सहयोग जुटाउन विष्णुमहायज्ञ गर्ने तयारी पनि भइरहेको जानकारी दिएका छन्।
पुलको निरीक्षण मङ्सिर ५ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमा घिसिङले गरेका थिए। मन्त्री घिसिङले तत्कालीन र दीर्घकालीन समाधानका लागि कदम चालिने प्रतिवद्धता व्यक्त गरेका थिए।
चार सय ७० मिटर लामो र ११ मिटर चौडाइको कमला पुल साढे तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०६८ सालमा पप्पु विल्डर्स कन्स्ट्रक्शनले ठेक्का पाएको थियो। काम समयमा सम्पन्न नभएपछि २०७६ असोजमा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्शनलाई ठेक्का सुम्पिएको थियो।
२०७८ असार १३ मा सम्पन्न हुने तयारीमा रहेको पुल असार १७ मा आएको बाढीले पूर्वपटिको पाया भासाइदिँदा पश्चिमपटिमा समेत असर परेको थियो। यस अवस्थापछि पुनर्निर्माण अभियानलाई तीव्रता दिन जनस्तरबाट पहल सुरु भएको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij