Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

मापदण्ड उल्लंघन गरेको क्रसर उद्योगमा जिल्ला समितिको कारवाही

मापदण्ड उल्लंघन गरेको क्रसर उद्योगमा जिल्ला समितिको कारवाही

भोजपुर : भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा कानुनी प्रक्रिया नपुर्याई दीर्घकालीन रूपमा सञ्चालन हुँदै आएको एक क्रसर उद्योगमा जिल्ला अनुगमन समितिले रोक लगाएको छ।

स्थलगत अनुगमनका क्रममा उद्योगले अवैध रूपमा प्राकृतिक स्रोत दोहन गरेको प्रमाण फेला परेपछि तुरुन्तै सञ्चालन बन्द गरिएको जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङले जानकारी दिए। उनका अनुसार जिल्लाभरका क्रसर उद्योगहरू क्रमिक रूपमा अनुगमन भइरहेको छ।

प्रमुख थुलुङले भने, “कानुन विपरीत सञ्चालनमा रहेका क्रसर उद्योगलाई कानुनी दायरामा ल्याउन हामी निरन्तर कदम चालिरहेका छौँ। अनुगमनमा लेगुवाघाटको क्रसर उद्योग अवैध पाइएपछि बन्द गरिएको हो।”

समितिका अनुसार उद्योगले नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७ उल्लंघन गरेको छ।
पक्की पुलबाट ५०० मिटर, खोला किनाराबाट २०० मिटर, राजमार्ग तथा हाइटेन्सन लाइनबाट नियत दूरी कायम नगरी उद्योग सञ्चालन भइरहेको पाइएको छ।

हाल बन्द गराइएको क्रसर लेगुवा–भोजपुर राजमार्गको पक्की पुलदेखि करिब ३०० मिटर उत्तर र अरुण नदी किनाराबाट ६० मिटर दूरीमा रहेको छ। उद्योग बस्ती तथा बजार क्षेत्र (लेगुवा बजार र धनकुटाको रामबजार) देखि ३५० मिटरमै पर्ने समितिको निष्कर्ष छ।

विसं २०७२ माघदेखि सञ्चालनमा रहेको यो क्रसर उद्योग अवैध रूपमा चलिरहेको समितिको ठहर छ।
उद्योग बन्द गरेपछि विभिन्न व्यक्ति तथा समूहबाट पुनः सञ्चालनका लागि दबाब आएको प्रमुख थुलुङले बताए।

“राज्यको सम्पत्ति दोहन गर्न कसैलाई पनि छुट छैन,” थुलुङले भने, “सबै क्रसर उद्योगलाई कानुनी दायरामा ल्याउने प्रक्रियामा हामी छौँ।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट