चितवन : पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक आंशिक बन्द हुने समयमा मुग्लिन–मलेखु सडकका तीन ठाउँमा भित्तो काट्ने काम सुरु गर्न तयारी भएको छ। मंसिर २४ देखि पुस १ गतेसम्म दैनिक पाँच घण्टा सवारी रोकी सडक स्तरोन्नति कार्य अघि बढाइने छ।
नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डका प्रमुख सजना अधिकारीका अनुसार सवारी चाप कम हुने समयलाई उपयोग गर्दै चितवनको घोप्टेभिर, धादिङको खतौडी र डाहाकीमा भित्तो काट्ने तयारी गरिएको हो। करिब ४० मिटर लम्बाइ र ८० मिटर अग्लो पहाड काटेर सात मिटर चौडाइ सडकलाई दुई मिटर थप गरिनेछ।
इन्जिनियर विजय दरैका अनुसार सडक बन्द नगरी काम सम्भव नभएकाले यो समय उपयोग गरिएको हो। विशालटार क्षेत्रमा कालोपत्र सुरु गरिएको छ भने चार पुलको पहुँच सडक, ड्रेनेज तथा पर्खाल निर्माणका काम पनि अघि बढाइएका छन्।
३८.८६ किमीमध्ये आठ किमीमा कालोपत्र सकिएको र पाँच किमीमा अन्तिम तयारी भइरहेको परियोजनाले जनाएको छ। हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको छ। केही खण्डमा छ–लेन, सात किमीभन्दा बढीमा चार–लेन र उकालो–ओरालो भागमा तीन–लेन ‘क्लाइम्बिङ लेन’ निर्माण गरिँदैछ।
२०७९ पुस १५ मा सुरु गरिएको तीन वर्षे ठेक्काको म्याद सकिन लागेका कारण म्याद थप प्रक्रियामा रहेको इन्जिनियर दरैले बताए। शर्मा–जेडआइसिजीले करिब रु ४ अर्ब ८० करोडमा ठेक्का लिएको यो परियोजना विश्व बैंकको सहयोगमा अघि बढिरहेको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij