बागलुङ : जिल्लामा हाल २१५ जना एचआइभी सङ्क्रमित सक्रिय रूपमा औषधि सेवन गरिरहेका छन्, जसमा १९ बालबालिका पनि रहेका छन्।
बागलुङ नगरपालिका निवासी एक महिलाले सामाजिक दृष्टिकोण अझै परिवर्तन नहुँदा सङ्क्रमितहरूले खुल्ला रूपमा जीवन यापन गर्न सक्दैनन् बताइन्। उनले भनिन्, “सङ्क्रमित भए पनि परिवार सामान्य छ, छोरी उच्च शिक्षा अध्ययन गर्छिन्, तर समाजले परिवारलाई अपहेलित दृष्टिले हेर्छ। यसले हामी खुल्न डराउँछौं।”
संक्रमित बालबालिकाहरूले विद्यालयमा विभेद र हेला अनुभव गर्ने गरेको परिवारले बताएका छन्। धौलागिरी प्रादेशिक अस्पतालको एआरटी (एन्टी रेट्रो ट्रिटमेन्ट) सेन्टर र सम्बन्धित गैरसरकारी संस्थाहरूको समन्वयले संक्रमितलाई परामर्श र औषधि उपचारमा जोड दिइरहेको छ।
एआरटी सेन्टरले २०६३ सालदेखि एचआइभी परीक्षण, परामर्श, गोपनीय औषधि वितरण र नियमित उपचार गर्दै आएको छ। स्वास्थ्य कार्यालयका अनुसार, गत आर्थिक वर्षमा १० जना संक्रमित थपिएका थिए भने चालु वर्षमा सात जना थप भइसकेका छन्।
स्वास्थ्यकर्मीहरूका अनुसार सामाजिक विभेदका कारण संक्रमितहरू खुल्न डराउँछन्। तर गोप्य रूपमा औषधि र परामर्श उपलब्ध गराउँदा संक्रमितको संख्या बढिरहेको छ। सेन्टरले गैरसरकारी संस्थासँगको सहयोगमा बाटो खर्च, पोषण र अन्य सुविधा पनि उपलब्ध गराउँदै आएको छ।
प्रमुख परामर्शदाता प्रदीप आचार्यका अनुसार, “एचआइभी सङ्क्रमितहरू अरु मानिस सरह सामान्य जीवन यापन गर्न सक्छन् भन्ने उद्देश्यले गाउँगाउँमा पुगेर नमूना सङ्कलन, गोप्य उपचार र परामर्श दिइरहेका छौँ।”
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij