Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

अस्ट्रेलियामा पढ्दै आएका सुरज पौडेल फिल्म ‘पीआर’ मार्फत अभिनयमा प्रवेश

अस्ट्रेलियामा पढ्दै आएका सुरज पौडेल फिल्म ‘पीआर’ मार्फत अभिनयमा प्रवेश

काठमाडौँ : पछिल्लो समय फिल्म क्षेत्रमा नवप्रवेशीहरूको संख्या दिनप्रतिदिन बढ्दो छ। यसैक्रममा अस्ट्रेलियामा मोडलिङ र अध्ययन गर्दै आएका सुरज पौडेल पनि अभिनेताका रूपमा देखिँदैछन्। उनी फिल्म ‘पीआर’ मार्फत दर्शकसमक्ष प्रस्तुत हुन लागेका छन्। शोभित बस्नेत निर्देशित यो फिल्म आगामी शुक्रबारबाट देशभर प्रदर्शनमा आउने छ।

फिल्मले परदेशमा बस्ने नेपाली विद्यार्थीहरूले भोग्ने मनोवैज्ञानिक, आर्थिक र सामाजिक चुनौतीहरूलाई कथामा उतारेको छ। सुरजका अनुसार, “कथाको ९९ प्रतिशत भाग मेरो आफ्नै जीवन जस्तै छ। अस्ट्रेलियामा सुरुका दिनमा मैले भोगेका चुनौतीहरू नै फिल्मको कथा हो।”

सुरजको फिल्म यात्रा सन् २०१९ को ‘ग्लामर नेपाल’ मोडलिङ शोबाट सुरु भएको थियो, जहाँ उनको परिचय निर्देशक बस्नेतकी छोरी सलिना बस्नेतसँग भयो। अस्ट्रेलियामा निर्देशकले फिल्मको लागि अडिसन लिइरहेको खबर सलिनाले सुरजलाई दिएकी थिइन्। अभिनयको इच्छा पहिले देखि नै भएकोले सुरजले अडिसन दिए र फिल्मका लागि चयन भए।

फिल्मका लागि छनोटपछि पढाइ, काम र मोडलिङसँग तालमेल मिलाउन चुनौती भयो। तर निर्देशकले अनुकूल सुटिङ तालिका मिलाइदिँदा काम सहज भएको उनी बताउँछन्। “डेढ महिनासम्म चलेको वर्कसप र पहिले लिएका अभिनय तालिमले मलाई अभिनय गर्न सजिलो बनायो,” सुरजले थपे।

फिल्मको केही भाग अस्ट्रेलिया र केही नेपालमा छायाँकन गरिएको छ। प्रदर्शनपछि सुरजले अन्य फिल्ममा पनि अभिनय गर्ने इच्छा व्यक्त गरेका छन्। उनले भने, “भूगोलले कलाकारितालाई रोक्दैन।” सुरज आफ्नो फिल्म दर्शकले रुचाउनेमा आशावादी छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट