म्याग्दी : म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३.५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना हाल ३० प्रतिशत भौतिक प्रगतिमा पुगेको छ। आयोजनाको प्रर्वद्धक कम्पनी अपर म्याग्दी हाइड्रोपावर लिमिटेड रहेको छ।
आयोजना प्रमुख ज्योतिकुमार केसीका अनुसार, एक वर्षको अवधिमा भौतिक प्रगति ३०.९४ प्रतिशत र वित्तीय प्रगति ३०.८० प्रतिशत पुगेको छ। “चार स्थानबाट सुरुङ निर्माण भइरहेको छ र फागुनभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यअनुसार बाँध र विद्युत्गृह निर्माणलाई तीव्रता दिएका छौँ,” उनले बताए। कुल ५,७८९.७१ मिटर लामो सुरुङमा हाल २,३६० मिटर निर्माण पूरा भएको छ।
बाँध निर्माण स्थलमा ४५ प्रतिशत भौतिक प्रगति हासिल भइसकेको छ। करिब दुई हप्ताभित्र विद्युत्गृहको उत्खनन् कार्य पूरा गरी संरचना निर्माणको तयारी हुने बताइएको छ। १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण भइरहेको छ, बाँध नजिकै तीन वटा पानी थिग्राउने पोखरी पनि निर्माणाधिन छ।
मेकानिकल र इलेक्ट्रो–मेकानिकल कार्यका लागि निर्माण कम्पनी छनोट भइसकेको छ। आउटलेटबाट पानी विद्युत्गृहमा ५९२ मिटर पेनस्टक पाइपमार्फत खसालिनेछ। विद्युत्गृह मालिका–७ भारवाङमा निर्माण भइरहेको छ र त्यहाँ १३२ केभी क्षमताको सबस्टेशन जडान हुनेछ।
आयोजनामा ६ बैंक, प्रर्वद्धक कम्पनी र सर्वसाधारणको शेयरमार्फत ११ अर्ब २३ करोड २७ लाख ६ हजारको लगानी जुटाइँदैछ। वार्षिक औसत ३१५.०१ गिगावाट घण्टा विद्युत् केन्द्रिय लाइनमा जोडिने अपेक्षा गरिएको छ।
हालसम्मको प्रगतिका आधारमा आयोजना निर्धारित समय तालिकाभित्रै सम्पन्न हुनेमा विश्वस्त रहेको आयोजना प्रमुख केसीले बताएका छन्। सामाजिक उत्तरदायित्व कार्यक्रमका लागि छ करोड २० लाख बजेट छुट्याइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij