विराटनगर : कोशी प्रदेश सरकारअन्तर्गतको मनमोहन प्राविधिक विश्वविद्यालयले प्राविधिक शिक्षासँगै अब औपचारिकरूपमा योग शिक्षालाई पनि विस्तार गर्न थालेको छ। विश्वविद्यालयले समुदायस्तरमै पुगेर दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित ‘स्कुल अफ एप्लाइड हेल्थ साइन्स’ अन्तर्गत योग शिक्षालाई प्राथमिकताका साथ अघि बढाएको हो।
विश्वविद्यालयका अनुसार, “रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै नलाग्ने उपाय अपनाउनु बुद्धिमानी हो” भन्ने मान्यताका साथ सामाजिक उत्तरदायित्वका रूपमा योग शिक्षा विस्तारको अभियान सुरु गरिएको हो। यस अभियानअन्तर्गत विश्वविद्यालयले दक्ष गुरुहरूबाट तीन चरणको विशेष प्रशिक्षण दिई व्यवसायिक रूपमा योग प्रशिक्षक उत्पादन गर्ने नीति लिएको छ।
कार्यक्रम प्रभावकारी बनाउने उद्देश्यले विश्वविद्यालयले प्रदेशका विभिन्न पालिकाहरू र संघसंस्थासँग सहकार्य गर्दै चरणबद्ध प्रशिक्षण सञ्चालन गरिरहेको छ। योग शिविरमा प्रशिक्षण दिने गुरुहरूको खर्च मात्र नभई, प्रशिक्षकहरूले समुदायमा एक वर्षसम्म प्रशिक्षण दिने खर्च पनि विश्वविद्यालयले स्वयं बेहोर्ने व्यवस्था गरेको छ। यसरी गाउँगाउँसम्म योग प्रशिक्षक पुर्याएर आम नागरिकलाई स्वस्थ बनाउने लक्ष्य विश्वविद्यालयको रहेको छ।
यस अभियानअन्तर्गत गत २० मङ्सिरदेखि झापाको दमकस्थित वडा नम्बर ८ कार्यालयसँगको सहकार्यमा ४५ दिने योग प्रशिक्षण औपचारिक रूपमा सुरु गरिएको छ। विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले उद्घाटन गर्नुभएको उक्त प्रशिक्षणमा ५० जना सहभागी छन्। कार्यक्रममा दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई, वडाध्यक्ष धर्मप्रसाद दाहाल र स्थानीय समाजसेवीहरू पनि उपस्थित थिए।
विश्वविद्यालयले पाँच महिनाअघि मोरङको उर्लाबारीमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रसँगको सहकार्यमा ४४ जना योग प्रशिक्षक उत्पादन गरेको अनुभवलाई यस कार्यक्रममा समावेश गरेको छ।
प्राकृतिक चिकित्सामा उच्च शिक्षा सुरु गर्ने तयारी
योग शिक्षाको यस विस्तारलाई अझ संस्थागत र औपचारिक बनाउन विश्वविद्यालयले निकट भविष्यमै प्राकृतिक चिकित्सासम्बन्धी उच्च शिक्षाको पठनपाठन सुरु गर्ने तयारी गरिरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij