विराटनगर : मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलमा खानामा विष मिसाइएपछि एक वृद्ध महिलाको मृत्यु भएको छ भने एकजना गम्भीर अवस्थामा उपचाररत छन्। ७७ वर्षीय इन्द्रमाया राईको उपचारका क्रममा मृत्यु भएको र ७० वर्षीय उनका श्रीमान् भक्तबहादुर राई गम्भीर अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। भक्तबहादुरको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ।
शनिबार दिउँसो भक्तबहादुर राई घर नजिकको खोल्सामा बेहोस अवस्थामा फेला परेपछि स्थानीयले उद्धार गरी घर पुर्याएका थिए। घरमा उनकी पत्नी इन्द्रमाया पनि बेहोस अवस्थामा भेटिएकी थिइन्। दुवैलाई तत्काल अस्पताल पुर्याइएकोमा इन्द्रमायाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो।
प्रारम्भिक अनुसन्धानमा उनीहरूले खाएको भोजनमै विष मिसाइएको खुलेको प्रहरीले जनाएको छ। घटनास्थलमा रहेको खोरमा तीन वटा कुखुरा समेत मृत फेला परेपछि पनि विष सेवन भएको आशङ्का थप बलियो बनेको छ।
घटनामा संलग्न भएको आरोपमा मृतकको भतिजी बुहारी ३२ वर्षीया सुनीता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार सोधपुछमा सुनीताले खानामा विष मिसाएको र प्रयोग गरिएको विषको बट्टा अँगेनामा जलाएको बयान दिएकी छिन्। बट्टा जलेको अवस्थामा प्रहरीले बरामद गरेको छ।
विषको प्रकृति र घटनाको कारणबारे पोस्टमार्टम, फरेन्सिक तथा प्रयोगशाला परीक्षणपछि मात्र पूर्ण पुष्टि हुने प्रहरीले जनाएको छ। सुनीताविरुद्ध कर्तव्यज्यानसम्बन्धी मुद्दा दर्ता गरी म्याद थप गर्दै थप अनुसन्धान भइरहेकाे बताइएको छ।
घटनाका बेला वृद्ध दम्पत्तिसँग बस्ने भतिजो प्रशान राई घरबाहिर रहेकाे खुलेको छ। प्रहरीका अनुसार पारिवारिक कलह घटनाको कारण हुनसक्ने अनुमान गरिएको छ।
घटनापछि स्थानीयवासीले निष्पक्ष र गहिरो अनुसन्धान गरी दोषीलाई कडाइका साथ कानुनी दायरामा ल्याउन माग गरेका छन्। प्रहरी निरीक्षक राजीव गिरीको नेतृत्वमा थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij