Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

सौतेनी आमाले आर्जन गरेको सम्पत्तिमा पनि सौतेनी सन्तानको हक लाग्ने !

सौतेनी आमाले आर्जन गरेको सम्पत्तिमा पनि सौतेनी सन्तानको हक लाग्ने !

काठमाडौँ : सौतेनी आमाले जुनसुकै स्रोतबाट आर्जन गरेको सम्पत्तिमा पनि सौतेनी सन्तानको हक लाग्ने व्याख्या सर्वोच्च अदालतले गरेको छ। बकसपत्रमार्फत प्राप्त स्त्री अंशधनसमेत छोराछोरीका हकमा पैत्रिक सरह हुने भएकाले सौतेनी सन्तानको हक लाग्ने व्याख्या सर्वोच्चको पूर्ण इजलासले गरेको हो । सौतेनी छोराछोरीलाई वण्डा नलाग्ने व्यवस्था गर्नु अंशबन्डासम्बन्धी स्वीकार्य मान्यता र कानुनी व्यवस्थासमेतको विपरीत हुने अदालतको व्याख्या छ।

सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, न्यायाधीश डा. नहकुल सुवेदी, टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको पूर्ण इजलासले आमाछोरा वा सौतेनी सन्तानलाई पनि फरक नगरेको भन्दै अंशमा हक लाग्ने नजिर स्थापित गरेको हो । शशी पराजुली उप्रेती तथा नवराज पराजुली पुनरावेदक रहेको मुद्दामा सर्वोच्चले सम्पत्तिमा सौतेनी छोराछोरीको समान हक हुने व्याख्या गरेको हो।

अदालतले विमातृक सम्पत्ति सौतेनी छोराले नपाउने परिकल्पना कानुनले समेत नगरेको व्याख्यामा उल्लेख गरेको छ । साथै अंशवण्डासम्बन्धी कानुनमा आमा शब्दले सौतेनी आमासमेत र छोरा शब्दले सौतेनी छोरासमेतलाई समेटेको अदालतको निष्कर्ष छ।

पूर्ण इजलासको फैसलामा भनिएको छ, ‘आमाछोरा वा सौतेनी आमाछोराबिच फरक नगरेको अवस्थामा स्त्री अंशधनको महल अन्तर्गत हुने सम्पत्ति आफ्नो हाँगातर्फका छोराछोरीलाई मात्र वण्डा लाग्ने, सौतेनी छोराछोरीलाई बन्डा नलाग्नेभन्दा समान पुस्ताका अंशियारबिच बन्डा घटीबढी हुन गई सबै अंशियारको बराबर बन्डा गर्नुपर्ने अंशबन्डासम्बन्धी स्वीकार्य मान्यता र कानूनी व्यवस्थासमेतको विपरीत हुने देखिन्छ।

बाबुआमाले जुनसुकै स्रोतबाट प्राप्त गरेको सम्पति छोराछोरीका लागि पैत्रिक हुने सर्वोच्चको व्याख्या छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट