Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

सरकारले ‘जेनजी’को भावनाविरोधी निर्णय गर्दैन : गृहमन्त्री अर्याल

सरकारले ‘जेनजी’को भावनाविरोधी निर्णय गर्दैन : गृहमन्त्री अर्याल

काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी’ आन्दोलनको भावनाविरोधी निर्णय हुनै नसक्ने स्पष्ट पारेका छन्।आज गृह मन्त्रालयमा ‘जेनजी’ अगुवासहित भएको छलफलमा मन्त्री अर्यालले आन्दोलनको जगमा बनेको सरकारले ‘जेनजी’को भावना प्रतिकूल हुने कुनै निर्णयबारे सोच्न पनि नसक्ने बताए। उनले भने, “जेनजी भाइबहिनीले उठाउनुभएका मागमा हाम्रो ध्यानाकर्षण भइरहेकै छ। मन्त्रालय र मातहतका निकाय अझै बढी जिम्मेवार र सजग ढङ्गबाट प्रस्तुत भइरहेको छ। जायज माग सम्बोधन गर्न हामी सधैँ तयार छौँ।”

जेनजी अगुवाले राखेका विषयलाई सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन्। उनले कतिपय सवाल सम्बोधन गर्न पहलकदमी लिइने बताए।मन्त्री अर्यालले भदौ २३ र २४ गतेका घटनालाई सरकारले एउटा ‘लेन्स’बाट मात्र नहेरेको भन्दै सबै पक्षको आवाजअनुसार निष्पक्ष रूपमा काम गरिने स्पष्ट पारे।

उनले भने, “नवपुस्तालाई मेरो आग्रह छ, आफूले गल्ती नगरेको भए प्रहरी प्रशासनलाई अनुसन्धानमा सघाएर अघि बढौँ। पक्राउ परेकाहरूका विषयमा सरकारले अनुसन्धान गर्दै छ। त्यसमा को कति निर्दोष छ भन्ने विषयमा सत्यतथ्य बुझेर थप निष्कर्षमा पुग्नेछौँ।”‘जेनजी’ युवाहरूले देशैभर आन्दोलनमा उत्रेका कतिपयलाई पक्राउ गरिएको र कतिपयलाई मुद्दा लगाएर जेल चलान गरिएको भन्दै आन्दोलनकारीलाई अपराधीकरण नगर्न आग्रह गरेका थिए।

छलफलमा ‘जेनजी’ अगुवाका तर्फबाट १० जना प्रतिनिधि, महान्यायाधिवक्ता सविता भण्डारी, गृहसचिव रामेश्वर दङ्गाल तथा नेपाल प्रहरी प्रमुख दानबहादुर कार्की र मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका पदाधिकारी उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट